बर्दघाट, नवलपरासी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै बर्दघाट–७ जीमिरेभारमा आयोजित कांग्रेस क्षेत्रीय स्तरको वृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नवलपरासी (वसुप) क्षेत्र नं. १ का उम्मेदवार एवं निवर्तमान सांसद विनोद चौधरीले देश र आफ्नो निर्वाचन क्षेत्र समुन्नत भएको देख्ने सपना व्यक्त गरेका छन् ।
२०७९ को निर्वाचनमा यसै क्षेत्रबाट उल्लेख्य मतान्तरले विजयी भएका चौधरीले नेपाली कांग्रेसको वर्तमान उद्देश्य गगन थापालाई प्रधानमन्त्री बनाउने रहेको बताए। “उहाँ भिजन भएका युवा नेता हुनुहुन्छ । उहाँको नेत्रित्वमा आफूलाई चिनाएको देश र निर्वाचन क्षेत्र सम्पन्न भएको हेर्ने मेरो सपना छ ।
चौधरीका अनुसार नवलपरासी क्षेत्र नं। १ मा औद्योगीकरणको आधार तयार भइसकेको छ र आगामी दिनमा यसले मूर्त रूप लिनेछ । उनले युवाहरूको वैदेशिक पलायन, रोजगारी संकट, गुणस्तरीय शिक्षाको अभाव र पूर्वाधार कमजोरी जस्ता समस्यालाई रूपान्तरणकारी कांग्रेसले समाधान गर्ने दाबी गरे ।
प्रदेश सांसद विश्वप्रेम पाठकले नेपालको राजनीतिक परिवर्तनमा कांग्रेसको नेतृत्व भूमिका स्मरण गराउँदै जेनजी आन्दोलनका एजेन्डाहरूको समाधान पनि कांग्रेसले नै दिने दाबी गरे । “विशेष महाधिवेशनले एक चरणको निकास दिएको छ, पूर्ण निकास यो निर्वाचनपछि कांग्रेसको नेतृत्वबाट आउनेछ,” उनले बताए।
भेलामा बोल्दै नेपाली कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले वडा तहदेखि संगठन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । “रणनीतिक रूपमा तल्लो तहबाट काम गर्दै केन्द्रको नेतृत्व कांग्रेसले गर्नुपर्छ,” उनले भने ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठले “कांग्रेस बदलियो, अब देश बदल्छ” भन्ने संकल्प पूरा गर्न कार्यकर्ता र सर्वसाधारण जुट्नुपर्ने बताए । स्रोत–साधनको सीमितताबीच पनि विगत तीन वर्षमा क्षेत्रमा धेरै काम भएको उनले उल्लेख गरे ।


































