काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको दाबी गरेका छन् ।
पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसद्मा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गरे । उनले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनी प्रश्न समेत गरे ।
उनले भने, ‘मैले हिजो पनि भने साह्रै अचम्मको कुरा के भने नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ ।
अध्यक्ष ओलीले कांग्रेसले जथाभाबी गर्न थालेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि एमाले मुलुकको निर्णायक राष्ट्रिय शक्ति बन्नुको विकल्प नभएको बताए । उनले भने, ‘ नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति होइन, सत्ता स्वार्थमा चुर्लुम्म डुबेको, सत्तास्वार्थमा केन्द्रित भएको र न्यायको पक्षमा होइन, जथाभाबीको पक्षमा नेपाली कांग्रेस गएको स्पष्ट देखिएको छ । यस स्थितिलाई सच्याउन नेकपा एमाले सुदृढ हुनुपर्दछ । खँदिलो हुनुपर्दछ । नेकपा एमाले त्यसका लागि एकताबद्ध हुनुपर्दछ ।’


































