काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।
लगातार दोस्रो पटक फाइनलमा पुगेको लुम्बिनी लायन्स यसपटक पनि उपाधि जित्दै आफ्नो वर्चस्व कायम राख्ने लक्ष्यमा छ। लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनीले यस प्रतियोगितामा सुदूरपश्चिमलाई दुई पटक हराइसकेको छ। पहिलो क्वालिफायरमा समेत सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान बनाएको थियो।
लुम्बिनीको सफलतामा डार्सी सर्टको प्रदर्शन महत्वपूर्ण रहेको छ। उनले प्रतियोगितामा १४८ रन बनाउनुका साथै ५ विकेट लिएका छन्। यस्तै, शेर मल्लले ९ विकेट लिएर टोलीको बलिङ आक्रमणलाई मजबुत बनाएका छन्।
अर्कोतर्फ, सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएलको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताका प्रमुख खेलाडीका रूपमा देखिएका छन्। उनले ब्याटिङतर्फ २१७ रन बनाउनुका साथै बलिङमा ६ विकेट लिएका छन्। यस्तै, अनिल खरेलले १० विकेट लिएर टोलीको बलिङमा महत्वपूर्ण योगदान दिएका छन्।
सुदूरपश्चिम यसअघिका दुवै फाइनलमा पराजित भएको थियो। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग हार बेहोरेको टोली यसपटक भने पहिलो उपाधि जित्ने योजनामा छ।
लिग चरण र आपसी प्रतिस्पर्धाको नतिजाले लुम्बिनीलाई केही बलियो देखाए पनि सुदूरपश्चिमको पछिल्लो पुनरागमनले फाइनललाई प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ। एकातिर उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी छ भने अर्कोतिर पहिलोपटक च्याम्पियन बन्ने योजनामा सुदूरपश्चिम छ। त्यसैले आजको फाइनल दुवै टोलीका लागि प्रतिष्ठाको भिडन्तसमेत बनेको छ।


































