काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आवश्यक हतियार र सैन्य सामग्री सहजै सीमापार पुग्ने भए पनि आम मानिसको जीवनका लागि आवश्यक वस्तुहरू समयमै उपलब्ध हुन नसकेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीको प्राथमिकतामाथि प्रश्न उठाएका हुन् ।
उनले भने, ‘अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन्, राइफल र गोलीगठ्ठा सीमापार सहजै पुग्छन् । हरेक अवरोधले आफ्नो समयसीमा पूरा गर्छ ।
शाहले यस्तो असमान अवस्थाको सबैभन्दा ठूलो असर गरिब तथा कमजोर देशका नागरिकमा पर्ने बताए । उनका अनुसार दक्षिण एसियाली देशहरू एकातर्फ जलवायुजन्य विपद्को सामना गरिरहेका छन् भने अर्कोतर्फ आर्थिक अस्थिरता र विश्वव्यापी आपूर्ति शृंखलाका समस्याबाट प्रभावित भइरहेका छन् ।
‘एकातर्फ हिमनदीहरू पग्लिरहेका छन्, बाली नष्ट भइरहेका छन् र बाढीहरू कुनै चेतावनीबिना आइरहेका छन् । अर्कोतर्फ विश्वव्यापी आपूर्ति शृंखलाले गरिब मानिसलाई उनीहरूको नियन्त्रणभन्दा बाहिरका कारणका लागि दण्डित गरिरहेको छ,’ उनले भने ।
प्रधानमन्त्री शाहले नेपालजस्ता देशहरूले सुरु नगरेका भूराजनीतिक द्वन्द्व र जलवायु संकटको मूल्य भने यस्ता देशका नागरिकले चुकाउनुपरेको संकेत गरे ।
उनले विश्वले युद्ध र सैन्य आवश्यकताका लागि निर्माण गरेको आपूर्ति प्रणालीजस्तै मानिसको आधारभूत आवश्यकताका लागि पनि प्रभावकारी व्यवस्था बनाउनुपर्ने बताए ।
शाहले अन्तर्राष्ट्रिय व्यवस्थाले मानिसको सुरक्षा, खाद्य तथा ऊर्जा पहुँच र आधारभूत आवश्यकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
जलवायु संकट र आर्थिक असमानताबाट सबैभन्दा बढी प्रभावित देशहरूलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय प्रणाली थप न्यायपूर्ण र प्रभावकारी हुन आवश्यक रहेको उनले औंल्याए ।
































