काठमाडौँ । नेपालमा प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ । आगामी फागुन १५, १६ र १७ गते खोटाङ जिल्लाको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना हुने भएको हो ।
सोही सम्मेलनको जानकारी दिन आज आयोजित पूर्व तयारी कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । साथै, गभर्नर अधिकारीले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्त्वपूर्ण हुने धारणा राख्दै सहर केन्द्रित सम्मेलनलाई बाँस सम्मेलनले चुनौती दिएको धारणा राखेका छन् ।
बाँससम्बन्धी विषयवस्तुमा आधारित रहेर आयोजना हुन लागेको सम्मेलनले नयाँ अभ्यास गर्नुका साथै हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने विश्वास गभर्नर अधिकारीको छ । ‘दैनिक जीवन बाँस उपयोगी र दिगो हुन्छ, आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न यसको भूमिका महत्त्वपूर्ण हुन्छ । स्वस्थ र वातावरणमैत्री हुने गरी काम गर्न बाँस उपयोगी हुन्छ’, अधिकारीले भने ।
‘नेपालमा २३ जातिका ८१ प्रजातिका बाँस पाइन्छन्, संसारमा पाइने बाँसमध्ये नेपालमा १९ प्रतिशत पाइन्छन्, तराईदेखि पहाड र हिमालमा पनि पाइने बाँसलाई गरिबको साथी मात्रै नभई धनीहरूको सौख पूरा गर्ने वस्तुका रूपमा प्रचारप्रसार गरी यसको प्रवर्द्धनमा जोड दिनुपर्ने सहभागी वक्ताहरूको धारणा छ ।
अधिकारीले बाँस सम्मेलनको सफलता, र उपयोग बढाउन, व्यावसायिक अभिवृद्धि, निर्यात प्रवर्द्धनलगायत क्षेत्रमा राष्ट्र बैंक र आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


































