काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरूलाई लगानी र व्यापारका लागि सबैभन्दा ठुलो अवसर आएको बताएका छन् ।
नेपाली राजदूतावास भारतले बुधवार नयाँ दिल्लीमा आयोजना गरेको ’दि पावर समिट २०२४’ लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले धेरै ऊर्जाका आयोजनाहरू अघि बढेकोले भारतीय लगानीकर्ता र व्यवसायीका लागि अहिले सबैभन्दा ठुलो अवसर आएको बताएका हुन् ।

नेपालमा सन २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको मार्गचित्र तयार भैसकेको छ, यसले भारतीय लगानीकर्ताहरूलाई लगानीको लागि ठुलो अवसर निर्माण भएको छ, ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेशिन र उपकरणहरू समेत भारतबाटै आउने हुनाले व्यापार र व्यवसायका लागि पनि ठुलो अवसर सिर्जना हुँदै छ ।’ उनले भने ।
नेपालले उत्पादन गर्ने उक्त परिमाणको विद्युत् मध्ये १५ हजार मेगावाट भारत र बङ्गलादेशमा निर्यात गर्ने उद्देश्य राखेको र भर्खरै मात्र नेपाल र भारतबिच १० हजार मेगावाट विद्युत् खरिद विक्रीको दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएकोले भारतीय लगानीकर्ताले आँखा चिम्लेर नेपालमा लगानी गर्दा पनि फरक नपर्ने कार्कीको भनाई थियो ।
नेपालमा अहिले करिब ३ हजार मेगावाट विद्युत् उत्पादन हुँदा २ हजार ३०० मेगावाट निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको, ३ हजार ३०० मेगावाट निर्माणाधीन, ३ हजार ६०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा र १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेका छन् । सबै गरेर ३० हजार मेगावाटका विद्युत् आयोजनाहरू विभिन्न चरणमा रहेको र तत्कालै लगानी गरेर विकास गर्न सकिने 'रेडि टु गो' आयोजनाको संख्या समेत धेरै रहेकोले भारतीय लगानीकर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न कार्कीले आग्रह गरे ।
ऊर्जा उत्पादकहरूको छाता संस्थाको हैसियतले इप्पानले नेपाल आउने जोसुकै लगानीकर्तालाई पनि सहजीकरण र सहयोग गर्ने पनि उनले बताए । अहिले नेपाल र भारतबिच अन्तर्देशीय विद्युत् व्यापार सम्झौता अन्तर्गत १ हजार मेगावाटसम्म विद्युत् आदान प्रदान भइरहेको स्मरण गराउँदै इप्पान अध्यक्ष कार्कीले निजी क्षेत्र पनि भारतीय निजी क्षेत्रसँग मिलेर ऊर्जा विकासमा सहकार्य गर्नुका साथै विद्युत् व्यापारमा पनि सहभागिताका लागि अघि बढेको बताए । उनले भारतसँगको विद्युत् आदानप्रदानका लागि नेपालमा ५ वटा कम्पनी स्थापना भइसकेको र अनुमति पत्र कुरिरहेको पनि बताए ।
इप्पान अध्यक्ष कार्कीले आगामी बैशाख १२, १३ र १४ अर्थात अप्रिल २४,२५ र २६ मा इप्पानले हिमालयन हाइड्रो एक्स्पोको आयोजना गरिएको जानकारी दिँदै यसमा सहभागी हुन लगानीकर्ता, उत्पादनकर्ता, आपूर्तिकर्ता लगायतलाई आग्रह गरे ।
समिटमा भारतको ऊर्जा मन्त्रालयका श्रीकान्त नागुलापालीले ऊर्जामा दुई देशबिच सहकार्य, समन्वय र सहजीकरण भइरहेको र भविष्यमा पनि यसै गरी अघि बढ्ने बताए । अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले नेपालमा ऊर्जामा लगानीको ठुलो सम्भावना देखेको बताउँदै लगानीको लागि आफूहरु इच्छुक रहेको बताए ।
लगानी बोर्डका सह-सचिव बाबुराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै लगानी सम्मेलनमा आउन आह्वान गरे । केयर रेटिङ लिमिटेडका बरिष्ठ निर्देशक सव्यासची माजुमदारले नेपालको ऊर्जा विकासका लागि रेटिङ महत्त्वपूर्ण हुने बताए ।


































