काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो महाधिवेशन सहितको औद्योगिक प्रदर्शनीको तयारी पुरा गरेको छ । औद्योगिक प्रवद्र्धनका लागि महासंघले पहिलो पटक औद्योगिक प्रदर्शनी सहितको महाधिवेशन गर्न लागेको र त्यसको तयारी पुरा भएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए ।
महासंघले आगामी चैत ८ र ९ गते आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन गर्दै छ । उक्त महाधिवेशन सहितको औद्योगिक प्रदर्शनीको प्रमुख अतिथि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी महासंघले देश भित्र रहेका लघु घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित बस्तुहरुको बजाररिकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीको कारण अहिले उद्योगी व्यवसायीको मनोवल खस्किदो अवस्थामा छ,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधी चलायमान बनाउनका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको हो ।’
महासंघले अधिवेशनको अबसरमा देशभरका उद्योगी व्यवसायी उपस्थित गराई उनीहरुले उत्पादन गरेको वस्तुहरुलाई प्रदर्शनीमा राख्ने छ । साथै उक्त स्थललाई वस्तु उत्पादक र खरिदकर्ताको जमघट स्थल बनाईने समेत उनले जानकारी दिए। उक्त प्रदर्शनीमा देशभरका ३ हजारभन्दा बढी उद्योगी व्यवसायीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना मझौला किसानदेखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहेन उक्त मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । ‘हामीले मेलामा साना, घलुघरेलु देखि मझौला र ठूला गरी करिव १ सय स्टलहरु राख्दैछौं,’ उनले भने, ‘जहाँ कर्णालीमा पाईने जिम्बु, यार्चा, सिलाजित देखि पूर्वको छुर्पी, अलैची देखि चियाकफी सम्म रहने छ ।’


































