काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा अग्रसरता लिएको छ।
बुधवारसाझ मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रूपमा घर पुर्याउने व्यवस्था मिलाउन आदेश दिएका छन् । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन मन्त्री दाहालले निर्देशन दिएका छन् ।
चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनको भनाई छ ।
उक्त छलफल कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध मिलाइएको बताए। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिए।




































