काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको खबरदारीका लागि जागरण अभियान सञ्चालन गरिएको जनाएका छन् ।
आज बैतडीको पाटनमा ‘जनतासँग माओवादी : मध्य पहाडी लोक मार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
जनताका समस्या सुन्न र भन्नका लागि जनजागरण अभियान सञ्चालन गरिएको र समस्या सम्बोधनका लागि सिंहदरबार र सडकबाट पहल गर्ने प्रचण्डको भनाई छ ।
प्रचण्डले भने,“राष्ट्रिय एकताको सन्देश दिन अभियान सञ्चालन गरेका हौँ।
सबै जनतालाई एकताबद्ध बनाउन चाहन्छौँ। यो अभियान राष्ट्रिय एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण हुनेछ।”
तराई–पहाड र हिमाललाई एकताबद्ध रूपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उनले बताए। उनले भने, “यो सरकार जनताविरुद्ध काम गरिरहेको छ। जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रश्रय दिने काम गरिरहेको छ। यो अभियानले सरकारलाई खबरदारी पनि गर्नेछ।”


































