काठामाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अबका दिनमा देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएको छ। महासंघका अध्यक्ष भागिरथ सापकोटाले महासंघको केन्द्रिय कार्यालय उद्घाटनको अवसरमा बोल्दै देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित र नेपालीपन झल्किने अर्थतन्त्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन्।
अहिले नेपाली अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिटान्सबाट भित्रिएको रकमले बस्तु तथा सेवा खरिद गरी चलिरहेको भन्दै अबका यस्तो अर्थतन्त्र दिगो नहुने उनको भनाई थियो । अहिले भन्सारमा आधारित कर राजस्वले अर्थतन्त्र चलिरहेको भन्दै अबका दिनमा त्यसबाट बाहिर निस्कदै स्वदेशी वस्तु तथा सेवा उत्पादनमा लाग्नुपर्ने उनको धारणा थियो ।
यसैगरी अबका दिनमा सरकार वा पार्टीले कस्तो खालको व्यवसायीक नीति लिने भन्ने विषयमा महासंघले पार्टीलाई सुझाव दिनुपर्ने नेकपा एमाले स्थायी कमिटि सदस्य एवं जनवर्गीय संगठनमा इन्चार्ज भानुभक्त ढकालले बताए ।
‘उद्योग व्यवसायको क्षेत्रमा एमालेले कस्तो नीति लिनुपर्छ यस विषयमा महासंघले आफ्नो स्पष्ट धारणा दिनुपर्छ,’ महासंघको कार्यालय उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने, ‘पार्टीले अब विधान अधिवेशन गर्दै छ त्यसमा उद्योगी व्यवसायी र उद्योग व्यवसाय प्रति कस्तो नीति लिनुपर्छ त्यसमा महासंघले स्पष्ट रुपमा राख्नुपर्छ र त्यसलाई पार्टीले सम्बोधन गर्नेछ ।’
साथै महासंघ नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको संस्था भएकाले उद्योगी व्यवसायीको क्षेत्रमा महासंघले अघि सारेको धारणालाई अंगिकार गर्दै कार्यान्यनमा लैजाने समेत उनको भनाई थियो ।
महासंघले यसअघि रामशाह पथस्थित नेशनल ट्रोडिङको भवनमा रहेको आफ्नो केन्द्रिय कार्यालयलाई महासंघले सुन्धरास्थित सीटीसी मलमा सारेको हो । महासंघले अत्याधुनिक अफिस निर्माण गरी सुन्धरास्थित सीटीसी मलको दोस्रो तलामा सरेको हो ।
आइतबार महासंघका अध्यक्ष भागिरथ सापकोटाको अध्यक्षतामा आयोजित उक्त समारोमा भानुभक्त ढकालका साथै महासंघका इन्चार्ज रचना खड्का, महासंघका पदाधिकारी, सचिवालय सदस्य, केन्द्रिय सदस्यहरु तथा अन्य उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।


































