काठमाडौं । नेपाली कांग्रेसका नवलपरासी पश्चिम क्षेत्र नं. १ का प्रतिनिधि सभा उमेदवार विनोद चौधरीले नवलपरासी आफ्नो राजनीतिक केन्द्र मात्र नभई मन, मुटु र प्राथमिकता भएको क्षेत्र रहेको बताएका छन्। प्रतापपुरमा आयोजित नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले आफूले निस्वार्थ रुपमा यस क्षेत्रको विकासमा लागेको र निकट भविष्यमा नवलपरासीले विकासमा ठूलो छलाङ मार्ने समेत बताए।
त्यसैगरी चौधरीले फागुन २१ को आम निर्वाचनलाई केवल सरकार परिवर्तन गर्ने अवसर नभई देशको दिशा र सोच रुपान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।
“रुपान्तरणको मागलाई सम्बोधन गर्न कांग्रेस आफैं रुपान्तरण भएको छ। नेतृत्वमा रुपान्तरण भयो, उमेदवारमा रुपान्तरण भयो,” उनले भने, “नयाँ विकल्प खोजिरहेका आम नेपालीका लागि कांग्रेस यसपटक सबैभन्दा उपयुक्त विकल्प बनेको छ।” देशका कुना–कुनाबाट खोजी गरी सक्षम, परिणाममुखी र नयाँ सोच भएका उमेदवारलाई अघि सारिएको बताउँदै उनले नवलपरासीप्रति आफ्नो विशेष जिम्मेवारी र प्रतिबद्धता दोहोर्याए।
विगतमा नवलपरासी क्षेत्रमा स्वास्थ्य, उद्योग र पूर्वाधार अत्यन्तै कमजोर रहेको स्मरण गराउँदै उनले सांसदको तीन वर्षे अवधिमा अस्पतालहरू खुल्ने र स्तरउन्नति हुने, पुल निर्माण अघि बढ्ने तथा औद्योगिक क्षेत्र विस्तारतर्फ काम भइरहेको जानकारी दिए। अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै उनले आगामी दिनमा विकासको गति थप तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरे र आफ्नो एउटै सपना विकासका साथ समृद्ध नवलपरासी बनाउने रहेको उल्लेख गरे।


































