काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्न बेलायती कम्पनीहरूलाई आग्रह गरेका छन्।
बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लण्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा प्रशस्त सम्भावनाहरू रहेको बताए ।
ढकालले नेपालको रणनीतिक भौगोलिक अवस्थित, युवा र दक्ष जनशक्ति, कम श्रम लागत, र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको भन्दै नेपालको सम्भावनामाथि लगानी गर्न आग्रह गरेका हुन्।
“नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको छ ।
नेपाल र बेलायतबिचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।
अध्यक्ष ढकालले नेपाल र बेलायतबिच २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै गोरखा सैनिकको भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठुलो योगदान रहेको बताए । दुई देशबिचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्याउनु पर्ने अध्यक्ष ढकालको जोड थियो ।
सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने उनको भनाइ छ । अध्यक्ष ढकालले लगानीकर्तालाई नेपालमा लगानीको लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिबद्ध रहेको समेत जानकारी गराए।
यस्तै ढकालले नेपाली उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा त्यहाँ रहेका नेपाली समुदायले थप योगदान दिन सक्ने बताए । कार्यक्रमले दुवै देशबिच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।


































