काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौँ लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको दाबी गरेका छन् ।
(आज) मंगलबार बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित 'म र मेरो सानो बुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौँ लगाएर गरेको कामले बिजुली आएको र लोडसेडिङ हटेको बताएका छन् ।
कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? के चमत्कार गर्नुभयो भन्दै प्रश्न गरेका छन् । कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै उनले कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नायकत्व लिने बताए। कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको तर्फबाट पूर्ण सहयोग रहेको बताए।


































