काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट कमजोर भएको बताएका छन् । पुनले बलियो सरकारले ल्याएको बजेट कमजोर भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’मा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले संसद्को गणितीय हिसाबले करिब दुई तिहाइको सरकारले ल्याएको बजेटमा मेहनत नपुगेको धारणा राखेका छन् ।
उनले वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिबद्धता जनाए पनि बजेट कमजोर आएको जिकिर गरे । उनले एजेन्डाहरूलाई नारासहित विषयमा केन्द्रित, बजेटलाई प्याकेजिङ र ब्रान्डिङ गरेर एकीकृत रूपले बजेट ल्याएको खण्डमा मात्रै प्रभावकारी हुने धारणा राखे ।
पूर्व अर्थमन्त्री समेत रहेका पुनले बजेट निर्माणमा अर्थमन्त्रीको मेहनत नपुगेको बताउँदै दुई ठुला दलहरूले गर्नुपर्ने मिहिनेत पनि नगरेको आरोप लगाए । उनले भने, ‘अहिलेको सरकार पहिलो ठुलो र दोस्रो ठुलो दल र संसद्को गणितीय हिसाबले करिब दुई तिहाइको सरकार हो । दुई तिहाइको सरकार गठन हुँदै गर्दा हामी संविधान संशोधन गर्छौ, राजनीतिक अस्थिरता देखिएको छ यसलाई स्थिर बनाउँछौँ, सेवा प्रवाहका कुरामा कडाइका साथ जान्छौँ र अर्थतन्त्रमा केही सुधार गर्छौ भनेर उहाँहरूले प्रतिबद्धता गर्नुभएको थियो । यो पृष्ठभूमिमा आएको यो बजेट हो । यो बजेट हेर्दा बलियो सरकारको कमजोर बजेटको रूपमा आएको छ।
आगामी बजेट राजनीतिक नेतृत्वले मेहनतका साथ नभई प्रशासकीय तहले नियमित रूपमा बनाउने बजेटको रूपमा देखिएको पुनको जिकिर छ ।


































