National life

बैंकहरूको नाफा घट्नु आकस्मिक होइन, दीर्घकालीन संरचनागत समस्याको परिणाम हो : थापा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ कात्तिक २०८२, बुधबार
1.4kShares
बैंकहरूको नाफा घट्नु आकस्मिक होइन, दीर्घकालीन संरचनागत समस्याको परिणाम हो : थापा
ncell

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ। बैंकहरूले गत शुक्रबार सार्वजनिक गरेका वित्तीय विवरण अनुसार तीन महिनाको अवधिमा बैंकहरूको खुद नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँमा सीमित भएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समिक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १५ बैंकको नाफा घटेको छ भने केवल ५ बैंकको नाफा वृद्धि भएको छ। ब्याजदरको अस्थिरता, ऋण विस्तारमा सुस्ती र बजारमा तरलताको कमी लगायतका कारण बैंकहरूको नाफा घट्न पुगेको जानकारहरुको भनाई छ । यस विषयमा आर्थिक भ्वाइसले विश्लेषक तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापासँग कुराकानी गरेको छ । प्रस्तुत छ थापाको विचार

वर्तमान आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घट्नु र खराब कर्जा बढ्नु कुनै आकस्मिक वा एक-दुई घटनाको परिणाम होइन । यो दीर्घकालीन संरचनागत समस्याहरू, नीतिगत कमजोरी र आर्थिक गतिशीलतामा आएको अवरोधको संयुक्त प्रभाव हो ।

१. कोभिडपछिको अर्थतन्त्रको कमजोर पुनरुत्थान

कोभिड–१९ ले नेपालको उत्पादन, व्यापार, पर्यटन र रोजगारी सबै क्षेत्रमा गम्भीर असर पारेको थियो । त्यसको प्रभाव अहिले पनि बाँकी छ । व्यवसायहरू ठिकसँग चल्न नसक्दा कर्जाको असुली कमजोर भयो । परिणामस्वरूप, बैंकहरूको नाफा घट्नु र NPL बढ्नु स्वाभाविक परिणाम हो। अर्थतन्त्र सुदृढ गतिमा फर्किएको भए, बैंकको नाफा यसरी घट्दैनथ्यो ।

२. रिफाइनान्सिङ योजनाको दुरुपयोग

कोभिड अवधिमा लगानी र रोजगारी जोगाउन सरकारले रिफाइनान्सिङमार्फत करिब २०० अर्ब रुपैयाँसम्मको सहुलियत ऋण उपलब्ध गरायो । तर, यो रकम धेरैले उत्पादनशील क्षेत्रमा होइन, अन्यत्र प्रयोग गरे । त्यसको उचित अनुगमन नभएपछि अहिले ती ऋणहरू नै असुली नहुने सूची (NPL) मा परिणत भइरहेका छन् । नीतिगत रूपमा राम्रो सोच भए पनि कार्यान्वयनमा कमजोरीका कारण यसको नकारात्मक प्रभाव अहिले देखिएको हो ।

३. लगातारका संकट र नीतिगत भ्रम

भूकम्प, कोभिड, राजनीतिक अस्थिरता, आन्दोलन, प्राकृतिक विपत्ति आदि कारणले आर्थिक गतिविधि नियमित हुन सकेन । यस्तो अवस्थामा सरकार र नियामक निकायहरूले ऋण पुनर्संरचना (Restructuring/Rescheduling) को नीति बारम्बार ल्याउँदा बैंकहरूको पोर्टफोलियो अस्थिर भयो । यस्तो अस्थिर नीतिले बैंकको वास्तविक जोखिम व्यवस्थापन क्षमतालाई कमजोर बनायो।

४. संयोगात्मक घटना होइन, संरचनागत समस्या

कसैले भनिदिएझैँ केही आन्दोलन, वर्षा, वा केही घटनाका कारण मात्रै नाफा घटेको होइन । यो कुनै रातारात घटेको समस्या होइन । बैंकिङ नाफा, कर्जा, र असुली सबै लामो प्रक्रियासँग जोडिएका छन् । त्यसैले हाल देखिएको गिरावट अघिल्ला वर्षहरूको संचित प्रभाव हो ।

५. आर्थिक वृद्धिको सुस्त गतिले बैंकिङ क्षेत्र कमजोर

जब देशको आर्थिक वृद्धि दर सुस्त हुन्छ, नयाँ लगानीका अवसर घट्छन्, व्यापार विस्तार हुँदैन र रोजगारी सिर्जना कम हुन्छ। यसले प्रत्यक्ष रूपमा बैंकको कर्जा असुलीमा असर पार्छ । नयाँ बिजनेस ग्रोथ नभएपछि बैंकको ऋण तिर्ने क्षमता घट्छ र NPL बढ्छ ।

६. उचित जिम्मेवारी र सुधारको आवश्यकता

यी सबै समस्यालाई केवल आकस्मिक घटना वा दोषारोपणको कोणबाट होइन, जिम्मेवारीको दृष्टिले हेर्नुपर्छ । नीति, बैंक व्यवस्थापन, नियमन र निजी क्षेत्र सबैको हिस्सेदारी छ । जबसम्म आर्थिक संरचना सुदृढ, नीति स्पष्ट र लगानी उत्पादक दिशामा केन्द्रित हुँदैन, तबसम्म यस्तो गिरावट दोहोरिन सक्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?