काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको बताएका छन्।
आज सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको धारणा व्यक्त गरेका छन् ।
दलहरूबिच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि संसद बैठक प्रभावित भएको छ।
उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखेका छन् । मङ्गलवारदेखि बजेटमाथि छलफल हुने कार्यसूची भए पनि आजसम्म बैठक बस्न सकेको छैन।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने विपक्षी दलको अडानका कारण बैठक निर्धारित समयमा बस्न नसकेको हो।


































