काठमाडौँ । प्रतिपक्ष दलहरूले श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैको भिजिट भिसा प्रकरणमा छानबिनको डायरामा ल्याउने गरी समिति वा आयोग बनाउनुपर्ने माग गरेका छन् ।
मङ्गलवार बिहान संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हालसम्मका गृहमन्त्रीको माथि छानबिन गर्नुपर्नेमा प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले विपक्षी दलहरूको अडान गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्नेमा कायम रहेको धारणा राखेका छन् । सत्तापक्ष कुन तरिकाले प्रस्तुत हुन्छ त्यही अनुसार अघि बढ्ने गरी बैंठक सम्पन्न भएको छ ।
यता, सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्।प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयास स्वरूप सभामुखले चार दलसँग संयुक्त छलफल थालेका हुन् । गृहमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन् ।


































