काठमाडौं । मंसिर महिना पश्चात नेपालमा सुन आयात ठप्प बनेको छ । वाणिज्य बैंकहरूले मूल्य बढेर कारोबारमा शिथिलता आएसँगै सुन आयात नगरेका जनाएका छन्। भन्सार विभागको तथ्यांक अनुसार मंसिर महिनामा जम्मा एक केजी मात्रै सुन नेपाल आयात भएको छ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा भने कुल ९ सय ३ केजी सुन आयात भएको तथ्याकंमा उल्लेख छ।
https://aarthikvoice.com/archives/79868
रकमका आधारमा हेर्दा चालू आवको समीक्षा अवधिमा १५ अर्ब ७२ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको सुन आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ६७०.५५ प्रतिशतले बढी हो। गत आवको पहिलो पाँच महिनामा दुई अर्ब ४ करोड २ लाख २७ हजार रुपैयाँको सुन आयात भएको थियो। सुनको मूल्य उल्लेख्य रूपमा बढेकाले रकमका आधारमा वृद्धिदर उच्च देखिएको हो।
गत आवभर १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँबराबरको १ हजार ३ सय ८९ केजी सुन आयात भएको थियो । त्यसअघि आव ०८०/८१ मा भने २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँबराबरको २ हजार ६ सय ५१ केजी सुन आयात भएको तथ्यांक छ ।
https://aarthikvoice.com/archives/80006
यता, चाँदीको आयात समेत कात्तिकदेखि ठप्प देखिएको छ। भन्सार विभागका अनुसार कात्तिकमा जम्मा २ सय ग्राम मात्रै चाँदी आयात भएको थियो भने मंसिरमा चाँदी आयात नै भएको छैन । पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर बढ्दो क्रममा रहेकाले यसको कारोबार प्रभावित बनेको छ ।
चालू आवको पहिलो पाँच महिनामा कुल १ हजार केजी ३ सय ३४ ग्राम चाँदी आयात भएको छ । यसमध्ये साउनमा ३४ ग्राम र असोजमा १ हजार केजी १ सय ग्राम चाँदी आयात भएको थियो । भदौमा भने चाँदी आयात भएको थिएन । गत आवको पहिलो पाँच महिनामा जम्मा १ केजी १ सय ३ ग्राम मात्रै चाँदी आयात भएको तुलनामा यस वर्ष आयात बढेको देखिन्छ ।
समीक्षा अवधिमा रकमका आधारमा २० करोड १४ लाख ११ हजार रुपैयाँबराबरको चाँदी आयात भएको छ। गत आवको पाँच महिनामा भने केवल २ लाख १० हजार रुपैयाँको चाँदी आयात भएको थियो। गत आवभर जम्मा पाँच लाख ३० हजार रुपैयाँबराबरको झन्डै पाँच केजी चाँदी आयात भएको तथ्यांक छ।
https://www.youtube.com/watch?v=4p_zmd1Gtwk&t=4s
सुन बैंकमा थुप्रिएर नबसोस् भन्ने लक्ष्यका साथ नेपाल सुनचाँदी व्यवसायी महासंघले हालका लागि सुन आयातमा रोक लगाएको महासंघका अध्यक्ष अर्जुन रसाइलीले जनाएका छन् । उनका अनुसार बैंकमा सुन होल्ड भयो भने व्यवसायीले सुन उठाएनन् भन्ने गलत भाष्य निर्माण हुन सक्ने जोखिम देखिएकाले यस्तो गरिएको बताएका छन् ।
“सुन आयात भएपछि १५ दिनभित्र व्यवसायीले उठाएनन् भने बैंकले त्यो सुन कसलाई बेच्ने हो, कसरी प्रयोग हुन्छ भन्नेमा स्पष्टता हुँदैन,” अध्यक्ष रसाइलीले भने, “त्यसको दुरुपयोग नहोस् भन्ने उद्देश्यले पनि अहिले सुन नमगाउन भनिएको हो।”
उनका अनुसार हाल बैंकहरूमा करिब १३० किलो सुन स्टक रहेको छ। बजारमा सुनको प्रत्यक्ष बिक्री न्यून हुँदा र व्यवसायीमाथि आर्थिक दबाब बढेको अवस्थालाई मध्यनजर गर्दै नयाँ आयात रोकिएको उनले बताए।
अध्यक्ष रसाइलीले सुनको मूल्य एकैचोटी प्रतितोला २ लाख ७० हजार रुपैयाँ नाघ्दा बजारमा फरक दृश्य देखिएको उल्लेख गरे। “मूल्य बढेपछि व्यवसायीभन्दा ग्राहकहरू पुरानो सुन बेच्न बढी आएका छन्, जसका कारण फिजदा सुन (पुरानो सुन) नै बजारमा बढी आएको छ,” उनले भने।
उनका अनुसार अहिले व्यवसायीहरू सुन किन्नै नसक्ने अवस्थामा पुगेका छन्। “पुस १ गतेदेखि बजार लगभग ठप्प जस्तै छ,” कार्तिक महिनामा अत्यधिक माग भएपछि बैंकहरूले ठूलो परिमाणमा सुन आयात गरेको र छ वटा बैंकले एकैचोटी सुन ल्याएको उनले जानकारी दिए। “त्यो सुनले मंसिर महिनाको माग धानेको देखिन्छ, तर पुसदेखि भने बिक्री नै छैन,” रसाइलीले आर्थिक भ्वाइससँग भने
व्यवसायीमाथि परेको मर्कालाई बुझेर महासंघले अस्थायी रूपमा आयातमा रोक लगाएको उनको भनाई छ। सुन आयात रोकिएको अवस्थामा पनि मूल्य भने दैनिक रूपमा नयाँ कीर्तिमान बनाइरहेको विषयमा अध्यक्ष रसाइलीले अन्तर्राष्ट्रिय कारण औँल्याएका छन् । “नेपालको बजार हेरेर सुनको भाउ निर्धारण हुँदैन,” उनले भने, “अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य नै नेपालमा लागू हुन्छ।”
अहिले अमेरिकी डलर अत्यन्त बलियो बन्दै गएको र रियल स्टेट तथा सेयर बजारबाट लगानी क्रमशः सुनतर्फ सर्दै गएकाले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य उकालो लागेको उनको विश्लेषण छ। उनका अनुसार नेपालमा प्रत्यक्ष कारोबार कम भए पनि कागजी रूपमा कमोडिटी मार्केटमा सुनको माग बढिरहेकाले मूल्यमा उतारचढाव देखिएको हो।
मूल्य घट्ने आधार छैन
अध्यक्ष रसाइलीले निकट भविष्यमा सुनको मूल्य घट्ने खास आधार नरहेको दाबी गरे। “हरेक वर्ष क्रिसमस, नयाँ वर्ष र चिनियाँ नयाँ वर्षको आसपास सुनको भाउ बढ्ने प्रवृत्ति देखिन्छ,” उनले भने, “अन्तर्राष्ट्रिय बजारमा सुनका सिक्का उपहार दिने चलन पनि बढेकाले मूल्य अझै उकालो लाग्न सक्छ।” उनका अनुसार यी सबै कारणले सुनको मूल्य हालको उचाइबाट घट्नेभन्दा थप बढ्ने सम्भावना बढी देखिन्छ।


































