काठमाडौँ ।चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनबाट १ महिनाभित्र विद्युत् उत्पादन गर्ने तयारी रहेको छ।
बाह्रबिसे सबस्टेसन जोड्ने करिब ४ किलोमिटर प्रसारण लाइनमध्ये २ किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैं अगाडि सकिने निर्माण पक्षले जानकारी दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सिन्धुपाल्चोक–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबिच गत १३ भदौमा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो ।
बाँध क्षेत्रको निर्माण सकेर परीक्षणसमेत भइसकेको छ । आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न गरी गत वर्षको फागुनमा पानी भरी परीक्षण सुरु गरिएको थियो। परीक्षणका क्रममा मुख्य सुरुङको करिब १ हजार ४ सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ। १५ दिनपछि सुरुङमा पानी भर्न थालिने छ ।
विद्युतगृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवम् परीक्षण ९ड्राई टेस्ट० सम्पन्न भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणहरूको वेट टेस्ट सुरु हुने छ । बाँकी रहेका सम्पूर्ण काम १ महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्मिलित टोलीले शनिवार आयोजना निर्माण स्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
राज्यमन्त्री तामाङले बाँकी रहेका काम द्रुत अगाडि बढाउन र आयोजना व्यवस्थापनका सम्पूर्ण कर्मचारी साइटमै बसेर काम सम्पन्न गर्न निर्देशन दिएका हुन। मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । २२०÷१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सब स्टेसनमा पुगेको विद्युत्लाई सोही सब स्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ ।
यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी शिव श्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सब स्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ । उक्त कार्य दशैं अगाडि सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामो साँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुने छ ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १६ अर्ब रुपैयाँ रहेको छ । आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट ९इक्विटी० र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावरको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत सेयर रहेको छ ।
४९ प्रतिशत साधारण शेयर धनी समूहमा ९कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९।५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३।५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेको छ । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् ।
आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षा याममा प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसामा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने जनाइएको छ ।


































