काठमाडौँ। मुलुकलाई भ्रष्टाचार र कुशासनबाट मुक्त गर्दै समृद्धिको दिशामा लैजान आफ्नो पार्टीलाई बहुमतसहित सरकारको नेतृत्व गर्ने अवसर दिन नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आह्वान गरेका छन्।
उनले आमजनतासँग वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाउँदै देश बनाउने संकल्पका लागि एक पटक पुनः माओवादी केन्द्रलाई विश्वास गर्न आग्रह गरेका छन्।
आज पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी नेतृत्वको अघिल्लो सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न र भ्रष्टाचारको प्रक्रियालाई निरन्तरता दिनकै लागि ढालिएको दाबी गरे ।
पछिल्लो समय पार्टीका कार्यक्रमहरूमा जनताको सहभागिता उल्लेख्य रूपमा बढेको र पार्टी प्रवेशको लहर चलेको बताउँदै यसले पार्टीप्रति जनताको आशा पुनः जागृत भएको संकेत गरेको जिकिर गरे ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दाहरूलाई अविलम्ब टुङ्गोमा पुर्याउन राज्यलाई दबाब दिनुपर्नेमा उनले जोड दिए । शान्ति प्रक्रियालाई निष्कर्षमा नपुर्याई मुलुकले स्थायी शान्ति र स्थायित्व प्राप्त गर्न नसक्ने उनको तर्क थियो ।


































