काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण संस्थाको रूपमा स्थापित बनाउन प्रयत्न गर्ने बताएका छन्।
मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न आफूले सक्दो प्रयत्न गर्ने बताएका छन्।
‘राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर म अगाडि बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरू सवाल किन नहोस् ।
राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु’, उनले भने ।
संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न आफूले कोसिस गर्ने पनि उनले बताए । राष्ट्रिय सभाको अध्यक्षमा ३९ मतका साथ दाहाल निर्वाचित भएका छन् भने उनको विपक्षमा १७ मत परेको थियो।


































