काठमाडौँ। माओवादी केन्द्रको पहलमा आज (बुधवार) बिहान बसेको विपक्ष दलको बैठकले बिहीबार पुनः बैंकठ बस्ने गरी बैठक समापन गरेको छ ।
बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकले निर्णय गरेको हो। संसद् बैठक बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ। सरकारले संसद् बैठक बोलाउन आनाकानी गरेर विशेष अधिवेशनको माग गर्ने बारेमा छलफल भएको सहभागी एक नेताले जानकारी दिएका छन् ।
सरकार संसद् छलेर अध्यादेशबाट देश चलाउने तरिकाले अघि बढेको कारण सरकारको कदमको विरुद्धमा प्रतिपक्ष सबै दल एकबद्ध हुनुपर्छ भन्ने विषयमा छलफल भएको र मूल्यवृद्धि नियन्त्रण हुन नसकेको विषयमा समेत छलफल भएको सहभागी उक्त नेताले जानकारी दिएका छन् ।
साथै, बैंठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालका अनुसार स्वर्णलक्ष्मी सहकारीका सञ्चालकहरू छुट्टा समेत रास्वपा सभापति रवि लामिछाने माथि प्रतिशोध साधिएको विषयमा समेत अन्य दलका नेताले आफ्नो प्रतिक्रिया राखेको जानकारी दिएका छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए भने एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी भएको अर्यालले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।


































