काठमाडौँ । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्र भागमा राख्दै सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक अगाडि बढ्ने बताएकी छन् ।
परराष्ट्र मन्त्रालयमा शुक्रवार पद बहालीपछि प्रतिक्रिया दिँदै लम्सालले यस्तो बताएकी हुन् । उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने आफु दृढतासाथ लागिपर्ने बताएकी छिन् । उनले भनिन्, ‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु ।
विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने समेत उनले बताइन् । नेपालसँग श्रम सम्झौता नभएका देशमा गैर कानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सबैलाई आग्रह गर्दै उनले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमति पत्र’ प्रदान गर्न पहल गर्ने प्रतिबद्धता जनाइन्।
रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भमा उनले अनुमति पत्र प्रदान गरिने बताएकी हुन् । ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले फेरि पनि सुझाव दिइन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।


































