काठमाडौँ । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक निकाय अति आवश्यक रहेको बताए।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको आयोजनामा सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीअन्तर्गत दोस्रो दिन बुधवार ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली: विश्व अभ्यास नेपालको सम्भावना’ विषयको कार्यपत्रमाथि टिप्पणी राख्दै खतिवडाले यस्तो बताएका हुन्।
पूर्व अर्थमन्त्री डा.खतिवडाले सहकारीको समस्या समाधानमा कुनै पनि निकाय जिम्मेवार नबनेको टिप्पणी राखेका हुन।
‘बैंकहरु समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछन्। अहिले सहकारीहरू समस्यामा छन्। सहकारीका समस्या समाधान गर्न कुनै पनि निकाय जिम्मेवार भएर लागेका छैनन्’ उनले भने।
डा.खतिवडाले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर समस्या सिर्जना हुनाका साथै वर्तमान सङ्कट देखिएको बताउँदै अब दोस्रो तहको नियामक अति आवश्यक रहेको धारणा राखे। उनले बैङ्कको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयमाथि पनि प्रश्न गरेका छन्।




































