काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे आज जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्य पूर्तिमा थप गति दिन योगदान दिएको बताए। प्रधानमन्त्री ओलीले उक्त सम्मेलन पूर्व यही असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए ।
सम्मेलनका लागि प्रधानमन्त्री ओली यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए ।
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले
संयुक्त राष्ट्रसंघको तत्वावधानमा स्पेनको सेभिल्ला शहरमा जुन ३० देखि जुलाइ ४, २०२५ सम्म आयोजित विकास वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मैले गरेको स्पेन भ्रमणको उपलब्धि यस प्रकार प्रस्तुत गर्न चाहन्छुः
सन् २०१५ मा इथियोपियाको अदिस अबाबामा आयोजित तेश्रो सम्मेलनको एक दशक पश्चात यो सम्मेलन आयोजना गरिएको हो।
यस सम्मेलनले पारित गरेको सेभिया प्रतिवद्धता नामक निष्कर्षात्मक दस्तावेज (आउटकम डकुमेन्ट) को संयुक्त राष्ट्रसंघमा सम्पन्न वार्ता प्रक्रियाको नेतृत्व नेपाल, जाम्बिया, नर्वे र मेक्सिकोले गरेका थिए।
यस सम्मेलनमा झण्डै ५० देशका राष्ट्र/सरकारप्रमुख तथा संयुक्त राष्ट्रसंघका महासचिव एवं विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरू लगायत उच्चस्तरीय सहभागिता रहेको थियो।
सम्मेलनमा भाग लिने क्रममा म यही २०८२ असार १४ गते (तदनुसार २८ जुन २०२५) स्पेन प्रस्थान गरी स्पेनको सेभिया सहरमा सम्मेलनका विभिन्न कार्यक्रमहरूमा असार १५, १६, १७ र १८ गते सहभागि भएँ।
तत्पश्चात स्पेनको राजधानी म्याड्रिड शहरमा नेपाली राजदूतावासले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा असार १८ र १९ गते सहभागी भई असार १९ गते राती म्याड्रिडबाट नेपाल प्रस्थान गरी असार २० गते (तदनुसार ४ जुलाई २०२५) नेपाल फर्केको छु।
मैले नेतृत्व गरेको उच्चस्तरीय प्रतिनिधिमण्डलमा मेरी धर्मपत्नी, मूख्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरू एवं अन्य उच्च अधिकारीहरूलगायतको सहभागिता रहेको थियो।
मेरो भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क तथा नेपाली राजदूतावास, म्याड्रिडबाट प्रेस वक्तव्यहरू जारी गरिएका छन्। यसका अतिरिक्त सामाजिक सञ्जालबाट समेत सुचना प्रवाह गरिएको छ।
विश्लेषणः नेपालको संविधानले संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानूनलाई अन्तर्राष्ट्रिय सम्बन्धको आधारका रूपमा निर्दिष्ट गरेको तर पछिल्लो समयमा शक्ति राष्ट्रहरूबीचको द्वन्दका कारण बहुपक्षीयता (मल्टील्याटरिजम) तथा संयुक्त राष्ट्रसंघको प्रभावकारितामाथि नै संशय पैदा भइरहेको परिप्रेक्ष्यमा नेपालबाट सरकारप्रमुख तहमा सम्मेलनमा भएको सहभागिताबाट नेपालको संयुक्त राष्ट्रसंघ तथा बहुपक्षीयताप्रतिको ऐक्यबद्धता पुनर्पुष्टि भएको छ।यस्ता भ्रमणहरू नेपालको कूटनीतिक उपस्थिति तथा अन्तर्राष्ट्रिय विश्वसनीयताको दृष्टिकोणले महत्वपूर्ण हुन्छन्। सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसंघसँगको सहकार्य अझ सुदृढ बनाउन सहयोग पुगेको छ।
सम्मेलनको औपचारिक कार्यक्रम अन्तर्गत जुन ३० तारिख आयोजित उद्धाटन सत्रमा म सहभागी भएँ। सोही सत्रमा सेभिया प्रतिवद्धता नामक सम्मेलनको निष्कर्षात्मक दस्तावेज पारित भयो।
जुन ३० तारिखकै दिन सम्मेलनको मूल सत्र अन्तर्गतको जनरल डिवेटलाई मैले अति कम विकसित मुलुकहरूको समुहको अध्यक्षका रूपमा तथा नेपालका तर्फबाट सम्बोधन गरें। सो समुहको अध्यक्षको रुपमा मैले सम्मेलनलाई गरेको सम्बोधनमा ती देशहरूले आर्थिक सामाजिक विकासमा भोगिरहेका चुनौतीहरूलाई उजागर गर्दै त्यस्ता चुनौतीहरूको सामना गर्न अझ बढी अन्तर्राष्ट्रिय विकास सहयोग तथा सहकार्य उपलब्ध गराउनुपर्ने विषय उल्लेख गरेको छु।
अति कम विकसित मुलुकहरूको उन्नतिका लागि सेभिया प्रतिबद्धताको कार्यान्वयन एक कोषेढुंगा हुने बताउँदै यसको पूर्ण कार्यान्वयनमा जोड दिएको छु।
उक्त दस्तावेजमा उल्लेखित प्रतिवद्धताअनुरूप न्यायपूर्ण र समतामुलक आर्थिक तथा वित्तीय व्यवस्थाका लागि अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधार गर्न एवं विकसित मुलुकहरूले विकासशील तथा अति कम विकसित मुलुकहरूलाई प्रदान गर्न प्रतिबद्धता गरेको औपचारिक विकास सहायताको लक्ष्य प्राप्त गर्न आह्वान गरेको छु।
सेभिया प्रतिवद्धताको कार्यान्वयनबाट अति कम विकसित देशहरूको दीगो विकास र स्तरोन्नति सुनिश्चित हुनुपर्ने बताएको छु। त्यस्तै नेपालका तर्फबाट गरेको सम्बोधनमा सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुने उल्लेख गर्दै नेपालका विकास आकांक्षा पूरा गर्ने राष्ट्रिय अठोटमा अन्तर्राष्ट्रिय साथसहयोगको अनुरोध गरेको छु।
विश्लेषणः समुहको अध्यक्ष तथा नेपालका तर्फबाट गरेको सम्बोधनमा ती देशहरूका साझा सवालहरू प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सहयोग र सहकार्यका लागि आह्वान गरेको छु जसबाट नेपाल लगायत सबै अति कम विकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोगको निरन्तरता तथा अभिवृद्धिको पक्षमा पैरवी भएको छ।
(ख) सम्मेलनको औपचारिक कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी वहुसरोकारवालाहरू सम्मिलित गोलमेच (मल्टी-स्टेकहोल्डर राउण्ड टेबल) को सहअध्यक्षता
सम्मेलनको औपचारिक कार्यक्रममा मूल सत्रका अतिरिक्त छ वटा वहुसरोकारवालाहरू सम्मिलित गोलमेचहरू आयोजना गरिएकोमा मैले जुलाई १ मा आयोजित अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी तेश्रो गोलमेच बैठकको सहअध्यक्षता गरेको थिएँ। उक्त गोलमेच बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, महामारीहरू, खाद्य असुरक्षा तथा द्वन्द एवं ऋणभार (डेट बर्डेन) जस्ता समस्याले अति कम विकसितलगायत विकासशील मुलुकहरूलाई गहिरो असर पारेको उल्लेख गर्दै यी समस्याहरूको समाधानका लागि अन्तर्राष्ट्रिय विकास सहयोग अपरिहार्य रहेकोमा नेपालको उदाहरण प्रस्तुत गर्दै औपचारिक विकास सहयोग घट्दै गएकोमा चिन्ता व्यक्त गरेको छु।
साथै सेभिया प्रतिबद्धताको कार्यान्वयन गर्दै विकास सहयोगको प्रभावकारितासम्बन्धी सिद्धान्तहरूको पूर्ण पालना गरी विकास सहयोगको प्रभावकारिता वृद्धि गर्नुपर्ने विषयलाई जोड दिएको छु। गोलमेचमा मसँगै सहअध्यक्षता पोर्चुगलका उप-विदेश तथा सहायता मन्त्री (सेक्रेटरी अफ स्टेट एण्ड कोअपरेशन) महामहिम आना इसाबेल जेभियरले गर्नुभएको थियो।
विश्लेषणः यसबाट औपचारिक विकास सहयोग लगायत सहुलियतपूर्ण अन्तर्राष्ट्रिय विकास सहयोग अति विपन्न मुलुकहरूका मात्र नभई अन्य विकासशील मुलुकहरूको दीगो विकास तथा जलवायु समस्या समाधानका लागि अत्यावश्यक रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गरिएको छ। गोलमेचको सहअध्यक्षताबाट नेपालको अन्तर्राष्ट्रिय क्षमताको झल्को दिनुका साथै अन्तर्राष्ट्रिय समुदायसमक्ष विकास साझेदारीका प्राथमिकताहरू मुखरित गर्ने अवसर प्रदान गरेको छ।
(ग) सम्मेलनका क्रममा आयोजित अति कम विकसित मुलुकहरूको उच्चस्तरीय कार्यक्रमको अध्यक्षता
मैले सम्मेलनका क्रममा १ जुलाइमा आयोजित अति कम विकसित देशहरूको एक उच्चस्तरीय बैठकको पनि अध्यक्षता गरेँ। उक्त कार्यक्रमलाई अध्यक्षका रूपमा सम्बोधन गर्दै मैले अति कम विकसित मुलुकहरूले गरिबी, भोकमरी तथा कुपोषण जस्ता समस्याहरूको सामना गरिरहेको तथा यस्तो विषम परिस्थितिमा निर्यात व्यापार, वैदेशिक लगानी तथा सहयोग घटिरहेको र चुलिंदो ऋणभारका बीच शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा गर्ने लगानी भन्दा सावाँब्याज भुक्तानीमा बढी रकम खर्च गरिरहनुपरेकोमा चिन्ता व्यक्त गरेको छु।
यी चुनौती तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्दै दोहा कार्ययोजना कार्यान्वयन गर्नका लागि सेभिल्ला प्रतिबद्धताअनुरूप घरेलु श्रोत परिचालन तथा वैदेशिक लगानी वृद्धि गर्दै औपचारिक विकास सहयोगको परिचालन राष्ट्रिय कार्यक्रमहरूका लागि अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छु। कार्यक्रममा मलावीका उपराष्ट्रपति, लेसोथोका प्रधानमन्त्री लगायत अन्य अति कम विकसित देशहरूका प्रतिनिधिमण्डल प्रमुखका रुपमा सहभागी मन्त्री एवं अन्तर्राष्ट्रिय संघसंस्थाका उच्च अधिकारीहरू उपस्थित भई सम्बोधन गर्नुभएको थियो।
विश्लेषणः हाल अति कम विकसित ४४ मुलुकहरूको विश्व समन्वय परिषद् (ग्लोबल कोअर्डिनेशन ब्युरो) को अध्यक्षता गरिरहेको सन्दर्भमा यस कार्यकार्यक्रमले नेपाल अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने अन्तर्राष्ट्रिय समुदायको एक जिम्मेवार र सक्षम मुलुक रहेको सन्देश प्रवाह भएको छ।
(घ) स्पेनका प्रधानमन्त्रीले आयोजना गर्नुभएको “विश्व ऐक्यबद्धतामा लगानीः विकास सहयोगको नवीन सोच” नामक विशेष कार्यक्रममा सम्बोधन
मैले सम्मेलनका क्रममा १ जुलाइमै स्पेनका प्रधानमन्त्रीले आयोजना गर्नुभएको “विश्व ऐक्यबद्धतामा लगानीः विकास सहयोगको नवीन सोच” नामक विशेष कार्यक्रमलाई सम्बोधन गरें। सम्बोधनका क्रममा राष्ट्रबाद तथा संरक्षणबाद एवं क्षेत्रीय र अन्तर्राष्ट्रिय द्वन्दहरू बढिरहेको समयमा वैश्विक ऐक्यबद्धता तथा विकास सहयोगको अझ महत्व बढेको उल्लेख गरेको छु। साथै, विकास सहायताले गरिबी न्यूनीकरण, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा ठोस परिणाम प्राप्त गरेको उल्लेख गर्दै विश्वमा दीगो शान्ति, समृद्धि तथा जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय विकास सहयोग अत्यावश्यक रहेको चर्चा गरेको छु।
यस सिलसिलामा विकास सहायताका प्रभावकारितासम्बन्धी सिद्धान्तहरू लागू गर्दै सेभिया प्रतिबद्धता पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छु।
विश्लेषणः यसबाट वैश्विक ऐक्यबद्धता तथा अन्तर्राष्ट्रिय विकास सहयोग संसारभरको शान्ति, समृद्धि र न्यायका लागि आवश्यक रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गरिएको छ।
(ङ) खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालनसम्बन्धी राष्ट्र प्रमुखस्तरीय अभियानसम्बन्धी कार्यक्रमलाई सम्बोधन।
कार्यक्रमका क्रममा नेपाल र बुरुण्डी लगायत विभिन्न देशहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूद्वारा संयुक्त रुपमा आयोजित खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालनसम्बन्धी राष्ट्र प्रमुखस्तरीय अभियानसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मैले नेपाल उक्त अभियानमा संलग्न भएको घोषणा गरेको छु। सो अभियानलाई संयुक्त राष्ट्रसंघ अन्तर्गत अगाडि बढाइएको छ।
साथै, नेपाल सरसफाइ तथा खानेपानीजस्ता आधारभूत सेवासुविधाहरूको पहुँच सबै नागरिकसम्म पुर्याउन प्रतिबद्धत रहेको समेत उल्लेख गरेको छु।
विश्लेषणः नेपाल खानेपानी तथा सरसफाइसम्बन्धी संयुक्त राष्ट्रसंघ अन्तर्गत अगाडि बढाइएको राष्ट्र प्रमुखस्तरीय अभियानको सदस्य बनेको छ।यसबाट खानेपानी तथा सरसफाइ सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउने नेपालको प्रतिबद्धता व्यक्त भएको छ ।
(च) विकास सहायताको भविष्यबारेको आयोगसम्बन्धी कार्यक्रमलाई सम्बोधन
सम्मेलनकै क्रममा गेट्स फाउन्डेसन र डेभेक्सले विकास सहायताको भविष्यसम्बन्धी आयोग स्थापनार्थ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यो आयोगले विकास सहयोगको प्रभावकारिताका सिद्धान्तहरूलाई लागु गराउन तथा विकासशील देशहरूले भोगिरहेको विकास वित्तको खाडल पुर्न एवं अन्तर्राष्ट्रिय साझेदारी तथा ऐक्यबद्दता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छु।
सम्मेलनमा कार्यक्रमका आयोजकहरूले आयोग स्थापनको घोषणा गर्ने कार्यक्रम राखी सो आयोगसम्बन्धमा सेभिल्ला प्रतिबद्धताको वार्ता प्रक्रियाको नेतृत्वकर्ता भएका कारण समेत नेपाललाई आमन्त्रण गर्दै सुझावका लागि अनुरोध गरेका थिए।
विश्लेषणः अन्तर्राष्ट्रिय विकास सहायताले अपेक्षित परिणाम प्राप्त नगर्नुको एक प्रमुख कारण प्रभावकारिताका सिद्धान्तहरूको कमजोर पालना रहेको सन्दर्भमा आयोगले यो समस्याको समाधानका व्यवहारिक उपाय सुझाउँदै विकास वित्त परिचालनमा परिपुरणकारी भूमिका खेल्नुपर्ने सुझाव दिएको छु।
(छ) विकास वित्तसम्बन्धी नागरिक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन
सम्मेलनको पूर्वसन्ध्यामा २९ जुनमा आयोजित विकास वित्तसम्बन्धी नागरिक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मैले दिगो विकासको लक्ष्य प्राप्तिका लागि नागरिक समाज महत्त्वपूर्ण साझेदार रहेको धारणा राख्दै नीति निर्माण, अनुगमन र जवाफदेहिता प्रणालीमा नागरिक समाजको भूमिकालाई सशक्त बनाउनुपर्ने विचार पनि प्रस्तुत गरेको छु।
साथै, सेभिया प्रतिबद्धताले दीगो विकासका लक्ष्य प्राप्त गर्न विकासशील देशहरूले वार्षिक ४ ट्रिलियन डलरको अभाव भोगिरहेकोमा बहुपक्षीय विकास बैंकहरू, नीजि क्षेत्र तथा अन्य माध्यमहरू एवं अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधार गरी उक्त अभाव पूर्ति गर्नुपर्ने र यी लक्ष्यहरू प्राप्त गर्न नागरिक निरन्तर खबरदारी गर्नुपर्ने बताएको छु। साथै नेपालले देशको विकास, सार्वजनिक नीति निर्माणसम्बन्धी बहस तथा लोकतान्त्रिक शासनप्रणाली अन्तर्गत नागरिक समाजका निम्ति उदार व्यवस्था गरेको बताएको छु।
विश्लेषणः सेभिया प्रतिबद्धताले नागरिक समाज लगायत अन्य सरोकारवालाहरूको दीगो विकासका सन्दर्भ तथा सेभिल्ला प्रतिबद्धतामा उल्लेखित विकास वित्तको नवीकृत ढाँचामा महत्वपूर्ण भूमिका हुने उल्लेख गरेकोमा मैले अन्तर्राष्ट्रिय वित्तीय निकायहरूको समावेशी सुधारका लागि नागरिक समाजलाई निरन्तर आवाज उठाउन आह्वान गरेको छु।
(ग) पोर्चुगलका प्रधानमन्त्रीसँगको भेटः सम्मेलनका अवसरमा अर्को भेटघाट पोर्चुगलका प्रधानमन्त्री महामहिम श्री लुइ मोन्टेनेग्रोसँग भयो। भेटका अवसरमा नेपाल र पोर्चुगलबीच विभिन्न क्षेत्रमा सहकार्य गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा छलफल गरेको छु।
(घ) इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँगको भेटः उहाँसँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयहरूमा छलफल गरेको छु। साथै, हमासले बन्दी बनाएका नेपाली नागरिक श्री विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिंदै निरन्तर पहलका लागि अनुरोध गरेको छु।
(ङ) संयुक्त राष्ट्रसंघका महासचिवसँगको भेटः संयुक्त राष्ट्र संघका महासचिव महामहिम श्री एन्टोनिओ गुटेरेससँगको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको सम्बन्ध थप सुदृढ बनाउने, बहुपक्षीयता (मल्टील्याटरिजम)लाई सशक्त बनाउने र नेपालको अति कम विकसित मुलुकबाट हुने स्तरोन्नतिलाई दिगो बनाउनेलगायतका विषयहरूमा छलफल गरेको छु।
(च) विश्व व्यापार संगठनका महानिर्देशकसँगको भेटः विश्व व्यापार संगठनका महानिर्देशक डाक्टर गोजी ओकोन्जो इवेलासँगको भेटमा नेपालको व्यापार क्षमता अभिवृद्धि गर्न नेपाल र विश्व व्यापार संगठनबीचको सहकार्य अझ सुदृढ बनाउने विषयमा कुराकानी गरेको छु।
विश्लेषण: यी भेटवार्ताहरूले नेपालको बहुपक्षीय तथा द्विपक्षीय सम्बन्ध सुदृढ गर्न सहयोग पुर्याउँछन्। भेटघाट भएका मुलुकहरूसँगको कूटनीतिक सम्बन्ध एवं सहकार्य सघन बनाउने तथा नेपाल र संयुक्त राष्ट्रसंघबीचको साझेदारी तथा व्यापार वृद्धि गर्ने एवं नेपालको अति कम विकसित मुलुकबाट हुने स्तरोन्नतिलाई दीगो बनाउने विषयकेन्द्रीत छलफल भएका छन्।
४. आर्थिक कूटनीति र लगानी प्रवर्द्धन
सेभियामा आयोजित सम्मेलनका कार्यक्रम पश्चात म असार १८ गते स्पेनको राजधानी म्याड्रिड फर्केर सोही दिन साँझ तथा भोलिपल्ट नेपाल प्रस्थान गर्नु अगाडिसम्म नेपाली राजदूतावास, म्याड्रिडले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएँ।
(क) यस क्रममा असार १८ साँझ स्पेनको व्यावसायिक समुदायसँग राजदूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सरल र सहज व्यावसायिक वातावरण निर्माणका लागि गरेका नीतिगत, संरचनागत तथा प्रक्रियागत सुधारहरूको चर्चा गरें। फलस्वरूप नेपाल दक्षिण एशियामा व्यवसाय अनुकूल वातावरण भएको एक अग्रणी राष्ट्र भएको चर्चा गर्दै जलविद्युत लगायत नवीकरणीय उर्जा, कृषि, सूचना प्रविधि, शिक्षा तथा स्वास्थ्य एवं पर्यटनजस्ता सम्भाव्य क्षेत्रमा लगानी गर्न स्पेनी व्यावसायिक समुदायलाई आह्वान गरेको छु।
(ख)राजदूतावासको भ्रमण तथा प्रवासी नेपाली समुदायसँग अन्तरक्रिया
असार १९ गते राजदूतावासको भ्रमण गरी दूतावासका कामकारबाहीहरूलाई चुस्तदुरुस्त, प्रभावकारी तथा जनमुखी बनाउन एवं नेपाल र स्पेनबीचको सम्बन्ध अझ सुदृढ बनाउन निरन्तर कार्य गर्न निर्देशन गरेको छु। साथै सोही दिन साँझ नेपाली राजदूतावास म्याड्रिडले नै आयोनना गरेको स्पेन तथा युरोपका अन्य देशमा बसोबास गरिरहनुभएका नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा प्रवासी नेपालीहरूलाई आफूले आर्जन गरेको ज्ञान, सीप र पूँजी मातृभूमिको विकासका लागि परिचालन गर्न आह्वान गरेको छु।
विश्लेषण: नेपालमा लगानी प्रवर्द्धन तथा प्रवासी नेपालीहरूको भूमिकाबारे गरिएको सम्बोधनले आर्थिक कूटनीतिको अभिप्राय झल्काउँछ। मैले जलविद्युत्, कृषि, आईटीजस्ता क्षेत्रको प्रचार गर्दै ती क्षेत्रहरूमा लगानी गर्न आह्वान गरेको छु।
५. सम्मान कार्यक्रम र औपचारिकता
सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहनुभएका राष्ट्रप्रमुख, सरकारप्रमुख, अन्य उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरू एवं अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूको सम्मानमा स्पेनका राजा फिलिप छैठौं र स्पेनका प्रधानमन्त्री महामहिम श्री पेद्रो सान्चेज पेरेज कास्तेखोनले क्रमशः २९ र ३० जुनमा आयोजना रात्रिभोजमा सहभागि भएँ।
विश्लेषण: राज्य प्रमुखहरूको औपचारिक रात्रिभोजले सम्मान, सहकार्य र औपचारिक कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउँछ।
६. भ्रमणको समग्र प्रभाव र निष्कर्ष
विकासका लागि वित्त चौथी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता बहुआयामिक रहेको देखिन्छ जहाँ नेपाल लगायत अति कम विकसित तथा विकासशील देशहरूको पक्षमा नीतिगत पैरवी गरिएको छ। सम्मेलनका क्रममा विभिन्न देशहरूसँग भएका द्विपक्षीय संवादले ती देशहरूसँगको सम्बन्ध र सहकार्य अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरेको छु।
भ्रमणका क्रममा व्यवसायिक समुदाय तथा गैरआवासीय नेपालीहरूसँग अन्तर्क्रिया गरी नेपालमा लगानी गर्न अनुरोध गरेको छु। यसले नेपालको अन्तर्राष्ट्रिय छवि, विकास मुद्दाहरूमा नेतृत्वदायी भूमिका र आर्थिक साझेदारी प्रवर्द्धन गर्न उल्लेखनीय भूमिका खेल्ने देखिन्छ।


































