काठमाडौं । अहिलेको समयमा लगानीकर्ता र उपभोत्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् ।
चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन् । यसअघि महँगो ब्याजदरकै कारण कर्जा प्रवाह बढ्न नसकेको तर अहिले भने यस्तो समस्या नरहेको महतले बताए।
उनले भने,‘बैंकिङ क्षेत्रमा विगतमा समस्या थियो। । बैंक ब्याजदर बढ्दा ऋणिको दायित्व बढेको थियो, यसले अर्थतन्त्रमा समस्या भएको थियो । हामीले त्यसै कारण ब्याजदर घट्नुपर्छ भनिरह्यौं। त्यसपछि राष्ट्र बैंकले पनि सोही किसिमले नीति बनाइदियो। अहिले ब्याजदर घटेको छ ।’
घट्दो ब्याजदरले नै पछिल्लो समय कर्जा लगानी पनि बढ्दै गएको महतको भनाई छ । कर्जा प्रवाह पुस मसान्तसम्म २.६ प्रतिशत बढेको महतले जानकारी गराए । पुरानो ऋण चुक्ता गर्न नसक्दा नै थप कर्जा लगानी बढ्न नसको उनको तर्क छ।
उनले भने,‘लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास बढाउनु जरूरी छ । पहिले नै ऋण लिएकाहरूले पुरानो ऋण चुक्ता गर्न नसक्दा थप ऋण लिन सकेका छैनन् ।’ उत्पादनशील क्षेत्रमा अहिलेसम्म उल्लेख्य सुधार आउन नसकेको अर्थमन्त्री महतले स्वीकारे।
सरकारले पुँजीगत खर्च अपेक्षाअनुरूप बढाउन नसकेको उनको भनाई छ । आगामी दिनमा यस्तो खर्च बढ्ने र औद्योगिक क्षेत्रको उत्पादन बढ्ने महतको विश्वास रहेको छ । अहिलेसम्म पुँजीगत खर्चमा उत्साहजनक अवस्था थिएन। बहुवर्षे ठेक्कालाई नियमित गर्ने कार्यविधी जारी भएको छ। अब पुँजीगत खर्च हुन्छ’, मन्त्री महतले भने ।


































