काठमाडौँ । २०८१ सालको असार मसान्त सकिनै लाग्दा शेयर बजारमा भने दैनिक रूपमा उत्साह थपिँदै गएको छ । बजारमा आएको उत्साहले लगानीकर्तामा समेत लामो समयसम्म देखिएको निराशालाई हटाएर खुसीयाली छाएको छ ।
हाल बजारमा आएको यो उत्साह कति दीर्घकालीन होला ? शेयर बजारको आगामी यात्रा कस्तो होला ? यस विषयमा आर्थिक भ्वाईसले अग्रज लगानीकर्ता छोटेलाल रौनीयारलाई सोधेको छौ। प्रस्तुत छ यस विषयमा रौनीयारको धारणा
अर्थतन्त्रको क्षेत्रमा एउटा साझा विश्वव्यापी भनाई छ कुनै देशको अवस्था कस्तो छ भनेर जान्नलाई त्यस देशको आर्थिक अवस्था कस्तो छ भनेर हेरे पुग्छ भनेर त्यस्तै जस्तो हाल हाम्रो देशको पूजिबजारको अवस्थामा पनि सुधार आएको मान्न सकिने स्थिती बनेको छ ।
असार मसान्तको यो समय चर्को ब्याजको तगारो पार गर्दै शेयर बजारले एउटा गति समाएको अवस्था छ । सरकारको परिवर्तनले लगानीकर्तामा खुशी ल्याउने कुरा त मनासिब नै हो केही नयाँ कुरा हुँदा त्यसले नयाँ रिजल्ट ल्याउन सक्ला भनेर जनअपेक्षा बढ्नु त मानवीय स्वभाव नै हो ।
तर यसमा एउटा सत्य के हो भने प्रचण्ड नेतृत्वको सरकार ढल्ने लगभग पक्कापक्की भएसँगै बजारले नयाँ गति लिएको भने सत्य हो यसले अब नयाँ बन्ने सरकारले शेयर बजारको निमित्त थप केही राम्रो गर्छ कि भन्ने लगानीकर्तामा देखिएको उत्साहको प्रमाण पनि हो। हाल देशको आर्थिक अवस्थामा सुधार आएको छ ।
राष्ट्रबैंकसँग हाल १३ बिलियन डलरभन्दा बढी फरेन्ट करेन्सी छ । १२, १३ महिना इम्पोटको लागी पर्याप्त पैसा छ । देशमा रेमिट्यान्स हरेक महिना एक बिलियन डलर भन्दा बढी भित्रिएको अवस्था छ । यो सबै सबै अवस्थालाई नजर अन्दाज गर्दा हालको परिस्थितिमा देशको आर्थिक अवस्था आशा लाग्दो बन्दै गइरहेको छ भन्न सकिन्छ ।
यतिबेला देशको दुई ठुला दलहरूको एकता भएको छ । यसले पनि जनतामा धेरथोर खुशी थपिएको छ किनकि यहाँ दलको मात्रै कुरा रहेन दलसँग जोडिएर आउने अर्थमन्त्री , मन्त्री र गभर्नरसम्मको विषय हो । एउटै पार्टीभित्रबाट यी सबै प्रतिनिधित्व हुने भएपछि पक्कै पहिलेभन्दा राम्रो परिणाम आउँछ भनेर भन्न सकिने स्थिति बनेको छ ।
अर्को पक्ष भनेको आगामी मौद्रिक नीतिको कुरा पनि हो । यस अगाडीको मौद्रिक नीति निकै निराशा जनक आए । हामीले पटक पटक बजारमा देखिएको समस्या समाधानको विषय र आवश्यक नीति निर्माणको विषयमा सरकारलाई ध्यानाकर्षण गर्दै आएका छौ। यस पटक हाम्रा मागहरूको आंशिक रूपमा भएपनी सम्बोधन हुन्छ कि भन्ने हाम्रो अपेक्षा हो ।
नयाँ प्रधानमन्त्रीको रूपमा केपी ओली आउने लगभग पक्कापक्कीको अवस्था बनेको छ , ओली जी र गभर्नर महाप्रसाद अधिकारीको सबै खाले साहिनो जोडिएको आम चर्चा चल्दै आएको छ यसर्थ नयाँ सरकार आउने बित्तिकै राष्ट्र बैंकले पनि लचिलो मौद्रिक नीति ल्याउने कुरामा सबैको विश्वास जोडिएको छ।
हाल बैंकहरुमा अधिक तरलता देखिँदै आएको छ । जसको कारण शेयर बजारमा शेयरको मूल्य उचालिने गरेका दृष्टान्तहरू छन्। पुँजी बजारलाई जहिले पनि मुद्रा बजारको ठुलो भूमिका रहेको हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएर कर्जा प्रवाह हुन नसकेको अवस्थामा त्यो पैसा परिचालन गर्ने थलो पुँजी बजार नै हो। पैसा फालाफाल हुँदा बैंकहरुले पुँजी बजारमा कर्जा प्रवाह बढाउने गर्छन् भने पैसाको अभाव हुँदा यस क्षेत्रमा हुने कर्जा प्रवाहलाई नियन्त्रण गर्छन्। बजारमा अधिक तरलता देखिएको कारण दैनिक रूपमा पैसा खिच्दा खिच्दै राष्ट्र बैंकलाई हैरानी भएको देखिन्छ । यसकारणपनी अब आउने मौद्रिक नीति लचिलो हुन्छ र हुन आवश्यक छ भन्ने मलाई लाग्दछ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकहरुमा ६४ खर्ब ५७ अर्बको निक्षेप छ भने जम्मा कर्जा प्रवाह ५१ खर्ब ५४ अर्ब मात्र भएको छ। यसमा झन्डै १३ खर्ब निक्षेप बेकामे बनेर बसेको अवस्था छ। बैंकहरुको सिडी रेशियो तपाइसँग कुराकानी गर्दै गर्दा ७७.८४ मा झरेको छ, जुन संकटको समयमा ९० प्रतिशत नाघेको थियो। अन्तर बैंक ब्याज दर २.९८ मा झरेको छ, जसले अधिक तरलताको स्पष्ट संकेत दिन्छ। यसको सोझो रूपमा मार बैंकहरुलाई परेको छ यसर्थ मौद्रिक नीति मार्फत राष्ट्रबैंकले सुधारको बाटोमा आउँछ भन्ने अपेक्षा हो ।
त्योसँगै शेयर बजारमा उत्साह ल्याउने अर्को क्षेत्र भनेको र नेपालमा कर्जाको बढी माग हुने क्षेत्र भनेका घरजग्गा कारोबार पनि हो । हालसम्म घरजग्गा क्षेत्र धेरै चलायमान हुन सकेको अवस्था छैन र वर्षाको बेला भएकाले त्यस क्षेत्रमा तत्कालै ठुलो कर्जा वृद्धि हुने अवस्था पनि छैन । चालु पुँजी कर्जा रकम घटाउनु पर्ने दबाब र कर्जाको ब्याज भुक्तानीबाट चेपुवामा परेका ठुला उद्योगीले लामो समयदेखि ठुलो कर्जा माग गरेका छैनन्। यस कारण पनि बैंकहरुको धेरै रकम प्रवाह हुन नसकेको स्पष्ट छ। यसमा सुधार आएर बिस्तारै कारोबार बढ्न थाल्यो भने सेयर बजारले थप गति लिने कुरामा दुई मत छैन ।
दुई तीन वर्षदेखि डिप्रेसनमा गएको हाम्रो शेयर बजारले लय समाएको छ । ६ महिनासम्म धितो पत्र बोर्डमा अध्यक्ष नियुक्तिको किचलो देखिनुले समेत बजारमा लयमा आउनमा असहयोग गरेको अवस्था छ अब बन्ने सरकारले तत्काल यो समस्या समाधान गर्ला भन्ने अपेक्षा आम लगानीकर्ताको छ । त्यस्तै नयाँ आईपीओ स्वीकृतिमा विलम्ब भएको छ। पूजिँ बजारमा संकट आउँदा सबै सबैको दैनिकीमा समस्या पारेको छ । बजारमा सुधार आउँदा बित्तिकै आर्थिक क्षेत्रको सबैतिर हरियाली छाउने कुरामा दुई मत छैन ।
































