काठमाडौं। सामाजिक सञ्जालमा आफ्नो नाम, अभिव्यक्ति र राजनीतिक धारणा जोडेर विभिन्न भ्रामक, अपुष्ट र मनगढन्ते सामग्री तीव्र रूपमा फैलिन थालेपछि नेता डा .सुनील कुमार शर्माले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।
शर्माले एक सार्वजनिक अभिमत जारी गर्दै आफूलाई जोडेर बनाइएका फेक सामग्री, तोडमोड गरिएको अभिव्यक्ति र अदालत, संविधान तथा लोकतान्त्रिक व्यवस्था जस्ता संवेदनशील विषयमा गरिएका मिथ्या दाबीहरू अत्यन्त चिन्ताजनक रहेको उल्लेख गरेका छन्। उनका अनुसार यस्ता कार्यले केवल व्यक्तिगत प्रतिष्ठामाथि आघात पुर्याउने मात्र होइन, लोकतान्त्रिक संरचना र सार्वजनिक विश्वासमै प्रहार गर्ने खतरा छ।
शर्माले सबै सरोकारवाला, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सञ्चारकर्मीलाई तथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न आग्रह गरेका छन्। उनले आफू सम्बन्धी आधिकारिक धारणा र जानकारी स्वीकृत डिजिटल प्लेटफर्महरू तथा विश्वसनीय स्रोतहरूबाट मात्र प्रकाशित हुने स्पष्ट गरेका छन्। अ
न्यत्र देखिएका दाबीहरू आफ्नो आधिकारिक विचार नभएको उनले पुनः दोहोर्याए। डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा उभिन थालेका छन्।






































