काठमाडौं । तारकेश्वर वडा नं. ९ को अतिक्रमित सार्वजनिक जग्गा मचागाः मा आज वडाअध्यक्ष श्यामकृष्ण महर्जंनले सार्वजनिक जग्गा संरक्षण गरिएको बोर्ड राखेका छन् ।
सो कार्यक्रममा बोल्दै वडाअध्यक्ष महर्जनले अन्य ठाउँहरुमा पनि अब बोर्ड राख्ने कार्य सुरु हुने तर त्यसका लागि स्थानीयबासीको सहयोग आवश्यक भएको बताए ।
मचागाः संरक्षणका लागि नवीन नगरका स्थानीयबासीले सदनदेखि राष्ट्रिय मिडियाबाट समेत आवाज उठाउँदै आएका थिए । केही महिनाअघि काठमाडौं क्षेत्र नं. ६ का संघीय सांसद शिशिर खनालले संसद्मा कुरा उठाएपछि नगरपालिकाले संरक्षण गर्ने घोषणा सामाजिक सञ्जालबाट गरेको थियो ।
सुरुदेखि नै सो सरकारी जग्गा संरक्षणबारे राष्ट्रिय आर्थिक दैनिकले समाचार सम्प्रेषण गर्दै आएको थियो ।
लामो समयसम्म नगरपालिकाले बोर्ड नराख्दा स्थानीयको गुनासो बढेपछि वडाअध्यक्ष महर्जन आफैंले खाल्डो खनेर बोर्ड राखेका छन् । सो कार्यबाट स्थानीयबासीले खुशी व्यक्त गरेका छन् ।
मचागाः को कित्ता नं. ६२ र ६३ गरि ९ आना सरकारी जग्गा रहेको मालपोत कार्यालय मनमैजुका कार्यालय प्रमुखले बताएका छन् ।
सो जग्गा अतिक्रमित भएकोबारे लामो समयदेखि मिडिया, संसद र सरकारी निकायमा कुरा उठे पनि संरक्षण हुन् सकेको थिएन । स्थानीय भूपाल गौतमले भने हाम्रो लामो प्रयास सफल भएको छ । यो अभियानका लागि सुरु देखि नै लाग्नु हुने स्थानीय सामाजिक अभियन्ता सुशान्त न्यौपाने सहित सम्पूर्ण राष्ट्रिय मिडिया, संघीय सांसद् शिशिर खनाल र वडाअध्यक्ष श्यामकृष्ण महर्जनलाई हामी टोलबासीको तर्फबाट आभार व्यक्त गर्दछौं ।




































