काठमाडौं । सम्भावित अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गते सोमबारसम्म रातिको समयमा तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै प्रतिकूल मौसमका कारण सडकमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले यात्रामा विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।
यातायात सञ्चालन गर्नुअघि सम्बन्धित सडकको अवस्था र मौसमको पूर्वानुमानबारे जानकारी लिएर मात्र यात्रा गर्न महासंघले आफ्ना सदस्य, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ।
विशेषगरी रातिको समयमा सडकको वास्तविक अवस्था पहिचान गर्न कठिन हुने तथा बाढी र पहिरोको जोखिमसमेत बढी हुने भएकाले अत्यावश्यक कामबाहेक राति यात्रा नगर्न महासंघले सुझाव दिएको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै राति तथा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणसहित सम्बन्धित पक्षलाई आग्रह गरिसकेको छ।
महासंघले मौसम तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र सम्बन्धित सरकारी निकायबाट जारी हुने सूचना तथा सुरक्षा सतर्कतालाई अनिवार्य रूपमा पालना गर्न अनुरोध गरेको छ।


































