काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालन गर्ने तयारी अघि बढाएको छ । यसका लागि बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३ को प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालासँग राय तथा सुझाव माग गरेको छ ।
पुँजीबजारमा कारोबारको गति, तरलता र मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले बोर्डले यस्तो व्यवस्था अघि सारेको हो ।
मस्यौदाअनुसार अन्तरदिवसीय कारोबार सञ्चालन गर्न स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्नेछ । साथै, तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्रलाई मात्र यस्तो कारोबारका लागि योग्य मानिनेछ ।
अन्तरदिवसीय कारोबारको सुविधा दिनुअघि ब्रोकरले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन क्षमता र उपयुक्तताको मूल्याङ्कन गर्नुपर्ने व्यवस्था मस्यौदामा छ । ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा तथा अन्य आवश्यक सर्तहरूको परीक्षण पनि अनिवार्य गरिनेछ ।
मस्यौदामा लगानीकर्ताले एकै दिन खरिद वा बिक्री गरेको धितोपत्रको खुला अवस्था (ओपन पोजिसन) सोही दिन बन्द (स्क्वायर अफ) गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । तोकिएको समयभित्र कारोबारको खुला अवस्था बन्द नभए स्वतः बन्द (अटो स्क्वायर अफ) हुने व्यवस्था पनि राखिएको छ ।
त्यस्तै, अन्तरदिवसीय कारोबार गर्ने प्रत्येक ग्राहकले तोकिएबमोजिम मार्जिन कायम गर्नुपर्नेछ । बजारको उतारचढावअनुसार थप मार्जिन (भेरिएसन मार्जिन) तोक्न सकिने मस्यौदामा उल्लेख छ ।
बोर्डले प्रत्येक ग्राहक, धितोपत्र व्यवसायी, धितोपत्र तथा समग्र बजारका लागि अधिकतम कारोबार सीमा (एक्सपोजर) निर्धारण गर्ने प्रस्ताव गरेको छ । यसका साथै ब्रोकरहरूले जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा गुनासो व्यवस्थापन प्रणाली स्थापना गर्नुपर्नेछ ।
अन्तरदिवसीय कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक प्रविधि, सुरक्षा व्यवस्था र वास्तविक समयको जोखिम नियन्त्रण प्रणालीसमेत अनिवार्य गरिने प्रस्ताव छ । बोर्डले यस्तो कारोबार चरणबद्ध रूपमा लागू गर्न सक्ने व्यवस्था पनि मस्यौदामा समेटेको छ ।
बोर्डले नियमावलीको प्रारम्भिक मस्यौदामाथि आगामी २०८३ मंसिर ४ गतेभित्र सुझाव उपलब्ध गराउन सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ ।


































