काठमाडौं । शेयर लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियारले पछिल्लो दुई दिनमा शेयर बजारका सूचकहरु ह्वात्तै माथि आउँने र तल जानुपर्ने खास कारणहरु नरहेको प्रष्ट पारेका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा रौनियारले शेयर बजारमा अन्य कारणलेभन्दा पनि हल्लाकै भरमा लगानीकर्ताहरुको मनोबलमा ठूलो प्रभाव पर्ने देखिएको स्पष्ट रहेको बताएका हुन् ।
आज मंगलबार शेयर बजार ओरालो लागेको छ । हिजो ६ प्रतिशतले बढेर दिनभर कारोबार नै बन्द भएकोमा आज भने बजार तिब्र रुपमा ओरोलो लागेको अवस्था छ।
आज नेप्सेमा ३ सय १६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजारको कारोबार भएको छ ।
यस्तो छ लगानीकर्ता रौनियारको विचार
हिजो सबैभन्दा पहिला लगानीकर्ताहरुलाई बिष्णु पौडेल नै अर्थमन्त्री हुनुहुन्छ भन्ने लाग्यो । पौडेलकै पालामा १८ सयको नेप्से ३२ सय पुगेको पनि थियो । त्यही आँकलने गर्दा कारोबार सुरु भएको १५, २० मिनेटमा नेप्सेमा सर्किट समेत लागेको थियो ।
आज फेरि वर्षमान पुन पनि अर्थमन्त्री हुने सम्भावना रहेको खबरहरु बाहिर आए । त्यसले फेरी शेयर बजारमा ठूलो प्रभाव पारेको देखिन्छ । आ–आफ्नो स्वार्थ निकट भएको मन्त्रालय लिन सबैको हानाथाप भएको देखिन्छ । त्यो पनि उहाँहरुकोतर्फबाट ठिकै होला । अब यसमा हिजो आएको खबरले बजार बढ्यो त्यो बढ्नुपर्ने पनि कारण थिएन । आज बजार ह्वात्तै घट्यो यसरी घटनु पर्ने पनि कारण देखिदैन । त्यसैले यो बजारको घटबढलाई अनेपेक्षित नै मान्दा हुन्छ ।
यसबाट हाम्रो लगानीर्ताहरुमा अलि बढी आत्तिने र अलि बढि मात्तिने प्रवृत्ती हाबि भएको देखियो । आज आलि बढी नै आत्तिएका छन् । यसलाई हामीले अलि बढी अपरिपक्क व्यवहार मान्न सक्छौं । यो सबै त लगानीकर्ताहरुकै कारणले नै भइरहेको छ नि । यही कारणले त होला नी शेयर बजारलाई जुवाको घर भनिएको, सट्टेबाजी पनि भन्ने गरिन्छ ।
शेयर बजारमा हालिने पैसा पनि निकै गाढा मेहनतको पैसा हो । जनताको खुन, पसिनाले नै आएको पैसा हो । ह्वात्त बढाउने, घटाउने, मात्तिने आत्तिने प्रवृत्ति देखिएको छ । मैले यतिकै कमेन्ट गर्न खोजको होइन । शेयर बजारमा धेरै नै रकम लगानी भएको छ । यसमा लगानीकर्ताहरुले धैर्यता भने लिनै पर्ने देखिन्छ । लगानीकर्ताहरुले गलत व्यवहार देखाउँनु हुँदैन । आफ्ना एजुम्सनमा विष्णु पौडेल, विष्णु पौडेल भनेर त्यस्तो लगानी भएको ठाउँमा खेलासी गर्न हुन्न भन्ने मेरो धारणा हो ।
































