काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले सूचना जारी गर्दै आजदेखि इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन खुला गरेको जनाएको हो।
यसअघि सोही सेयर विद्यमान संस्थापक सेयरधनीलाई लक्षित गर्दै बिक्रीमा राखिएको थियो। तर तोकिएको अवधिमा कुनै पनि आवेदन नपरेपछि अब सर्वसाधारणलाई समेत अवसर दिइएको बैंकले स्पष्ट पारेको छ।
सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित बैंकको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।
बैंकका अनुसार यस प्रक्रिया मार्फत बाँकी रहेको संस्थापक सेयर वितरण गर्ने योजना अघि बढाइएको हो।


































