क्यालिफोर्निया । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा फेसबुकका संस्थापक मार्क जुकरबर्ग तीन वर्षको दूरीपछि एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’मा पुनः सक्रिय भएका छन् ।
सुरुवातमा मेटाको ‘म्युज स्पार्क १.१’ एआई मोडलसम्बन्धी जानकारी सार्वजनिक गर्न एक्समा पोस्ट गरेका जुकरबर्ग त्यसयता उक्त प्लेटफर्ममा नियमित रूपमा सक्रिय देखिएका छन् ।
उनको पछिल्लो पोस्ट सेप्टेम्बर ९ मा आएको थियो ।
मेटाले सञ्चालन गरेको सामाजिक सञ्जाल ‘थ्रेड्स’ एक्सको प्रत्यक्ष प्रतिस्पर्धी मानिन्छ । यस्तो अवस्थामा जुकरबर्ग आफैं एक्समा सक्रिय हुन थालेपछि यसको कारणबारे समेत चासो बढेको छ ।
एक पोडकास्टमा उनलाई थ्रेड्स सञ्चालन गरिरहेको अवस्थामा प्रतिस्पर्धी प्लेटफर्म एक्समा समेत किन नियमित रूपमा पोस्ट गरिरहेको भन्ने प्रश्न गरिएको थियो । जवाफमा जुकरबर्गले आफ्नो व्यक्तिगत प्रचारका लागि मात्र नभई एआई तथा प्रविधिको क्षेत्रमा सक्रिय इन्जिनियर र अनुसन्धानकर्तासम्म पुग्न एक्स प्रयोग गरिरहेको बताएका थिए ।
उनका अनुसार मेसिन लर्निङ तथा अनुसन्धान समुदायका ठूलो हिस्साले अझै एक्सलाई प्राथमिकताका साथ प्रयोग गर्दै आएको छ । ती समुदायमा सक्रिय व्यक्तिहरूसँग संवाद कायम गर्न एक्समा मेटाको संस्थागत उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो ।
जुकरबर्गले विभिन्न सामाजिक सञ्जालमा फरक–फरक समुदाय सक्रिय हुने भएकाले एउटै सामग्रीलाई विभिन्न प्लेटफर्ममा पुर्याउनु आवश्यक रहेको बताएका छन् ।
उनका अनुसार थ्रेड्समा मेटाको आफ्नै बलियो उपस्थिति रहे पनि एक्समा एआईसँग सम्बन्धित ठूलो समुदाय सक्रिय छ । त्यसैले प्रयोगकर्ताहरू जहाँ छन्, त्यहीँ पुगेर संवाद गर्नु सामाजिक सञ्जालको महत्वपूर्ण उद्देश्य भएको उनले बताएका छन् ।
उनले सामग्री प्रकाशनलाई पोडकास्ट उत्पादनसँग तुलना गर्दै एउटा प्लेटफर्ममा प्रकाशित सामग्रीलाई व्यापक दर्शकसम्म पुर्याउन अन्य प्लेटफर्ममा समेत साझा गर्नुपर्ने बताए ।
‘फरक–फरक ठाउँमा फरक समुदाय छन् । एक्समा धेरै एआईसँग सम्बन्धित मानिसहरू छन्,’ जुकरबर्गले भनेका छन् ।
जुकरबर्गको एक्समा पुनरागमनलाई मेटा र एक्सबीचको प्रतिस्पर्धाका बीच विशेष चासोका रूपमा हेरिएको छ । थ्रेड्सलाई एक्सको विकल्पका रूपमा अघि बढाइरहेको मेटाका प्रमुख आफैं एक्समा सक्रिय हुनुले सामाजिक सञ्जालमा प्रभावकारी समुदायसम्म पुग्न प्लेटफर्मभन्दा बाहिरको उपस्थितिलाई समेत उनले महत्व दिएको देखिन्छ ।

































