काठमाडौँ। अमेरिकी हवाई आक्रमणमा परी इरान एयरलाइन्सको यात्रुवाहक कार्गो विमान क्षतिग्रस्त भएको छ।
इरानी अधिकारीहरूले बताएअनुसार उक्त विमान भारततर्फ औषधि र मानवीय सहायता सामग्री बोक्दै उडान भरिरहेको थियो। सोही क्रममा मशहद विमानस्थलमा आक्रमण भएको हो।
अमेरिकी पक्षले अहिलेसम्म यस आक्रमणको आधिकारिक पुष्टि गरेको छैन।
भारतस्थित इरानी दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मा प्रकाशित सूचना मार्फत भनेको छ, “उक्त विमान मानवीय अभियानको हिस्सा थियो र विभिन्न देशबाट ल्याइँदै गरेको औषधि तथा चिकित्सा उपकरण बोकेको थियो। नागरिक विमानलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय उड्डयन नियम र मानवीय कानुनको सिद्धान्त विपरीत हो।”
इरानी दूतावासले सिकागो महासन्धि 1944 र मोन्ट्रियल महासन्धि 1971 को सन्दर्भ दिँदै नागरिक विमानमाथि हुने कुनै पनि आक्रमणलाई अन्तर्राष्ट्रिय अपराध मानिने स्मरण गराएको छ।
यस घटनापछि इरानी दूतावास र नागरिक उड्डयन संगठनले अन्तर्राष्ट्रिय निकायहरूसँग तत्काल कदम चाल्न अपील गरेका छन्। घटना अनुसन्धान गरी जिम्मेवार पक्षलाई सजाय दिइयोस् र भविष्यमा यस्ता खतराहरू रोकियोस् भन्ने कुरामा इरानको जोड छ।


































