काठमाडौँ । असार महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत तर्फ मुद्दती निक्षेपको ब्याजदर असार महिनाका लागि ६.८६ प्रतिशत कायम भएको छ ।
जेठ महिनामा औसत ब्याजदर ७ प्रतिशत रहेको छ ।
त्यस्तै ५ बैंकले भने जेष्ठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकले ब्याजदर बढाएका छन् । जेठ महिनाको तुलनामा असारमा ब्याजदर बढाउने बैंकमा हिमालयन, माछापुच्छ्रे र नबिल बैंक रहेका छन् । यता, प्रभु, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ र नेपाल बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
असार महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। यस बैंकले व्यक्तिगत मुद्दतीमा ८.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, कृषि विकास बैंकले भने सबैभन्दा कम ५.६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुले आरोप लाउँदै आएका छन् । पछिल्ला महिनाहरूमा बैंकहरुले लगातार जसो ब्याजदर घटाइरहेका छन् । अधिक तरलताको अवस्था कायम छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ ब्याजदर घटेसँगै लगानी बढ्नेमा अपेक्षा राखिएको छ।

































