काठमाडौँ । आज संघीय राजधानी काठमाडौँलाई केन्द्रित गरेर विभिन्न स्थानमा गणतन्त्रवादी दलहरू र राजावादी समर्थकहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दै छन्। गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्दै छ।
जस अनुसार काठमाडौँको प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा पूर्वराजा समर्थकले प्रदर्शन गर्ने तयारीमा रहेका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।
त्यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईँसँगै मिलेर प्रदर्शन गर्न गर्ने जनाएको छ ।
पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन्। यो गणतन्त्रवादीहरूका लागि ‘सह्य’ विषय छैन । त्यसैले उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् ।
तर, गणतन्त्रवादीहरूलाई राजावादीहरूले गणतन्त्रको विपक्षमा प्रदर्शन गरेर ‘काउन्टर’ दिन लागेका छन्।
आजका यी प्रदर्शनले काठमाडौँको ट्राफिक अवस्थालाई अस्तव्यस्त पार्ने अनुमान गरिएको छ। कतिपय विद्यालयमा भने एसईई बाहेकका अन्य वार्षिक परीक्षा आजका लागि स्थगित गरिएका छन्। अत्यावश्यक काम बाहक अन्य कामको लागि धेरै बाहिर नजान पनि प्रशासनले अनुरोध गरेको छ ।
आजको यी दुई प्रदर्शनलाई मध्यनजर गरेर भद्रकालीमा कमान्ड सेन्टर, एसएसपीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गरिएको छ । दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न तीनकुने र प्रदर्शनी मार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने तयारी रहेको छ ।
उपत्यका प्रहरी कार्यालयका अनुसार सम्भावित दुर्घटनाहरूलाई मध्यनजर गर्दै प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने तयारी रहेको जानकारी दिएको छ।
सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्ने भएका छन् ।
































