काठमाडौँ। नेकपा एमाले आज जागरण सभाको नाममा काठमाडौँमा शक्ति प्रदर्शनमा गर्ने भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको जानकारी दिएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभाको गर्न लागेको एमालेको दाबी छ । जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगायत सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको छ ।
विपक्षी राजनीतिक पार्टीहरूले खास गरी भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाइरहेका छन् । एमालेले पनि सोही शैलीमा प्रदर्शन गर्ने तयारी गरेर विपक्षीलाई जवाफ दिने माध्यम जागरण सभालाई बनाउने देखिन्छ।

































