काठमाडौँ । सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन प्रति श्रद्धाञ्जली प्रकट गर्दै सरकारले राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ ।
यस्तै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू त्यहाँ पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम रहेको छ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यस लगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको छ ।

































