National life

आर्थिक मन्दीको विकराल अवस्था, गत आवमा मात्रै झण्डै एक खर्बको कारोबार कालोसूचीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
1.1kShares
आर्थिक मन्दीको विकराल अवस्था, गत आवमा मात्रै झण्डै एक खर्बको कारोबार कालोसूचीमा
ncell

झरना कडेल ,आर्थिक भ्वाइस संबाददाता

काठमाडौं । देशको आर्थिक अवस्था कति विकराल बन्दै छ भन्ने कुराको एउटा सवुत प्रमाण हो कर्जा सूचना केन्द्रको तथ्याङ्क । गत आवमा मात्रै ३४ हजार व्यक्ति कालो सूचीमा पर्दा करीब १ खर्ब रुपैयाँ बराबरको कारोबार असफल भएको छ । जवकी आर्थिक वर्ष २०७५ ७६ सम्म वर्षभरी २ हजार व्यक्ति मात्रै कालोसूचीमा पर्ने गरेका थिए । उनीहरुको कारोबारको रकम पनि १० अर्ब हाराहारी मात्रै हुने गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक तथा वित्त कम्पनीबाट ऋण लिनेहरु हरेक दिन १००र २०० को संख्यामा कालोसूचीमा परिरहेका छन् ।

पछिल्लो समय कालोसूचीमा पर्नेको संख्या डरलाग्दो रुपले बढिरहेको छ । कोरोना महामारीले गर्दा थलिएको अर्थतन्त्र अझै उठ्न सकेको छैन । व्यापार व्यवसायमा मन्दी छाएको छ । कतिपय व्यवसायीहरू व्यवसाय छाड्न बाध्य भएका छन् ।

पछिल्लो समय सबै खाले व्यवसायहरु मन्द गतिमा चलिरहेका छन् । एकातिर महँगी बढिरहेको छ अर्कातिर व्यवसाय सुस्त गतिमा चल्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यवसायीहरू चपेटामा परेका छन् । एकातिरको ऋण, अर्कोतिर व्यवसाय ठप्प । त्यसो हुँदा उनीहरु ऋण तिर्नै नसक्ने अवस्थामा पुगेका छन् । जसको कारण कालोसूचीमा पर्नेको संख्या दिनानुदिन दोब्बर–तेब्बरले बढेको बढ्यै छ ।

पछिल्ला दिनहरुमा कालोसूचीमा पर्ने ऋणीको संख्या आक्रामक रुपले बढिरहेको कर्जा सूचना केन्द्रले जनाएको छ । अहिले दैनिक जसो २०० जनाको हाराहारीमा कालोसूचीमा पर्ने गरेको केन्द्रका प्रवक्ता बिजय कुँवरले बताए । पछिल्लो समय कालोसूचीमा पर्नेको संख्या दोब्बरले बढेको उनको भनाइ छ । उनका अनुसार विगतका वर्षहरुमा एक सय हाराहारीमा मात्र कालोसूचीमा राख्न निवेदन पर्ने गरेकोमा अहिले एकै दिन २०० सय भन्दा बढी ऋणी कालोसूचीमा राख्न निवेदन पर्ने गरेको र कालो सूचीमा पर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

पछिल्लो समय आर्थिक स्थिति डामाडोल बन्दै गएपछि राम्रो नियतले ऋण लिएर किस्ता तिरिरहेकाले सम्म किस्ता तिर्न नसकेर, सानादेखि ठूला व्यवसायीहरु समेत कालोसूचीमा पर्ने गरेको कुवंरको भनाइ छ । अहिले केन्द्रमा २ हजारको चेक समेत बाउन्स गरिदिन निवेदन आउने गरेको कुवंर बताउँछन् ।

चालू आर्थिक वर्ष शुरु भएको १८ दिनको अवधिमा २ हजार ७ सय ७७ जना ऋणी कालोसूचीमा परेको केन्द्रका प्रवक्ता कुवंरले बताए ।

हालसम्म कर्जा सूचना केन्द्रले ६१ हजार ४ सय २३ जनालाई कालोसूचीमा राखेको छ । शुरुदेखि गत आर्थिक वर्ष २०७९र८० को अन्तिम सम्ममा ५८ हजार ६ सय ४६ जना कालो सूचीमा परेका थिए । गत आर्थिक वर्ष २०७९–८० मा मात्रै ३४ हजार ८१ जना ऋणी कालोसूचीमा परेको केन्द्रका प्रवक्ता कुँवरले बताएका छन् ।

गत आर्थिक वर्षको यो तथ्याङ्कले कालोसूचीमा पर्नेको संख्या डरलाग्दो रुपमा बढेको देखाउँछ । यो संख्या हेर्ने हो भने हालसम्म कालोसूचीमा पर्नेको आधाभन्दा पनि बढी संख्या एकै वर्षमा थपिएको छ । यसरी नै चल्दै गए चालू आर्थिक वर्षमा कालोसूचीमा पर्नेको संख्या नै ६० हजार नाघ्न सक्ने कुवंरको भनाइ छ । गत आर्थिक वर्षमा कालो सूचीमा पर्नेहरु मध्ये ७० प्रतिशत चेक बाउन्स र ३० प्रतिशत कर्जा तिर्न नसक्नेहरु छन् ।

उनका अनुसार आर्थिक वर्ष २०७८–७९ मा १५ हजार ९९५ जना कालोसूचीमा परेका थिए । आर्थिक वर्ष २०७७–७८ मा ६ हजार ५१४ जना, २०७६–७७ मा ४ हजार ६२० जना र २०७५–७६ मा २ हजार ८३७ जना कालोसूचीमा परेका थिए ।

केन्द्रको विगत ५ वर्षको तथ्याङ्क हेर्दा कालोसूचीमा पर्नेको संख्या गुणात्मक हिसाबले हरेक वर्ष दोब्बरले बढ्दै गएको छ ।

कुवंरका अनुसार, गत आर्थिक वर्ष ०७९–८० मा चेक बाउन्सको ३८ अर्ब र कर्जाको ५५ अर्ब गरी ९३ अर्ब रुपैयाँ बरावरको रकम सहित कालोसूचीमा परेका छन् । आर्थिक वर्ष ०७८–७९ मा १७ अर्ब बरावरका चेक बाउन्स भएर तथा १० अर्ब बराबरको ऋण तिर्न नसकेर कालो सूचीमा परेका थिए । यसरी हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६६ अर्ब रुपैयाँ बढी रकम तिर्न नसकेर तथा चेक बाउन्समा परी कालोसूचीमा परेका हुन् ।

केन्द्रका प्रवक्ता कुँवरका अनुसार ७० प्रतिशतभन्दा बढी ऋणीहरु चेक बाउन्समार्फत कालोसूचीमा पर्ने गरेका छन् भने छ भने ३० प्रतिशत ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने गरेका छन् ।

कालोसूचीमा किन र कसरी परिन्छ

ऋण लिएर मान्छे ९० दिनसम्म सम्पर्कमा नआएमा, कर्जाको साँवा कुनै किस्ता वा ब्याज भुक्तानीको मिति एक वर्ष नाघेमा, ऋणीले नतिरेमा उसलाई कालोसूचीमा राखिन्छ । ऋणीले म्यादभित्र ऋण चुक्ता नगरे बैंक तथा वित्तीय संस्थाले ऐनअनुसार कर्जा असुलीको कारबाही चलाउँदा वा ऋणीले कर्जाको दुरूपयोग गरेको प्रमाणित हुँदा पनि कालोसूचीमा राखिन्छ।

कर्जा सूचना केन्द्रले केन्द्रसँग आबद्ध बैंक तथा वित्तीय संस्थाले निवेदन गरेपछि मात्र कालोसूचीमा राख्ने गरेको छ । खातामा पैसा नभएका कारण काटिएको चेक नसाटिँदा अर्थात् चेक बाउन्स हुँदा र बैंक तथा वित्त कम्पनीबाट लिइएको ऋण भुक्तानीको समयावधि नाघेको ९० दिनसम्म पनि असूली नहुँदा कालोसूचीमा राख्ने व्यवस्था छ ।

खातामा पर्याप्त रकम नभई चेक जारी गर्ने र त्यो चेक ३ पटकसम्म नसाटिएपछि रकम पाउने व्यक्तिले सम्बन्धित बैंकमा लिखित उजुरी दिएपछि कालोसूचीमा राख्ने व्यवस्था छ । उजुरी परेपछि बैंकले खातामा रकम जम्मा गर्न तत्काल ७ दिनको सूचना जारी गर्छ । यदि खातावालाले तोकिएको समयभित्र आवश्यक रकम जम्मा नगरेमा बैंकले कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा निवेदन दिने गरेको छ ।

कालोसूचीमा परे के हुन्छ ?

कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थालाई इजाजत पत्र प्राप्त संस्थाले कुनै पनि नयाँ कर्जा सुविधा प्रदान गर्न, खाता खोल्न, बैंकिङ्ग कारोबार गर्न वा जमानत स्वीकार गर्न पाउँदैनन् । त्यस्ता व्यक्तिहरुको नयाँ राहदानी जारी नगर्न तथा भइरहेको राहदानी जफत गर्न इजाजत पत्र प्राप्त संस्थाले नेपाल राष्ट्र बैंक मार्फत नेपाल सरकारलाई सिफारिस गर्न सक्छन् ।

बैंक तथा वित्तीय संस्थाले ऋणी तथा जमानीकर्ताहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेमा कालोसूचीमा परेका व्यक्तिहरु सँग सम्बन्धित परिवारका सदस्यहरुलाई कुनै इजाजत पत्र प्राप्त संस्थाले कर्जा प्रदान नगर्न सक्छन् । यदि गर्न चाहेको खण्डमा सञ्चालक समितिले गरेको निर्णय अनुसार मात्र कर्जा प्रदान गर्न सक्ने व्यवस्था छ । यसरी प्रदान गरिएको कर्जाको हकमा प्रचलित व्यवस्थाको दोब्बर कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । तर सम्पूर्ण कर्जाहरुको हकमा शतप्रतिशतभन्दा बढी कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने छैन ।

कालो सूचीबाट कसरी हट्ने

ऋणीले कर्जा चुक्ता गरिसकेको अवस्थामा वा चेक बाउन्स भएकाले चेकमा भएको रकम तिरेर क्लियर गरिसकेको खण्डमा सम्बन्धित व्यक्ती ले उसले मेरो रकम चुक्ता गर्‍यो, कालोसूचीबाट फुकुवा गरिदिनुहोस् भनेर बैंकलाई निवेदन दिनुपर्छ । बैंकले कर्जा सूचना केन्द्रमा फरवार्ड गरेपछि मात्रै कालोसूचीबाट फुकुवा हुन्छ ।

कालोसूचीबाट हटिसकेपछि भने पुनः उसले पहिले जस्तै कारोबार गर्न पाउँछ तर उसको रेकर्ड चाहिँ रहिरहन्छ ।

कर्जा सूचना केन्द्रमा २० वटा वाणिज्य बैंक, ८ वटा राष्ट्रिय स्तरका विकास बैंक, ९ वटा क्षेत्रीय बैंक, १८ वटा फाइनान्स कम्पनी, ५७ वटा माइक्रोफाइनान्स, १० वटा हायर पर्चेज कम्पनी, ५ वटा सहकारी, पूर्वाधार बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी आवद्ध छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?