काठमाडौँ । भवन निर्माणमा अनियमितता भएको आरोपमा सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आर्थिक वर्ष २०७८-७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको अख्तियारको भनाई छ ।
उच्च अदालत जनकपुरले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगराउन आदेश दिएको थियो ।
अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको भन्दै अख्तियारले प्रतिवादीबाट एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गर्नुपर्ने दाबी गरेको छ।


































