काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१–८२ को आयात र निर्यातको तथ्यांक अनुसार गत वर्ष २० खर्ब ८१ अर्बको वैदेशिक व्यापार भएको र १८ खर्ब ४ अर्बको आयात भएको छ भने २ खर्ब ७७ अर्बको निर्यात भएको छ।
सरकारले आयातमा भने ऐतिहासिक प्रगति गरेको छ । गत आर्थिक वर्षमा पौने तीन खर्बको निर्यात भएको छ । अहिलेसम्म यो परिमाणको निर्यात हुन् सकेको थिएन ।
निर्यात बढेपनि आयात बढेका कारण व्यापार घाटा बढेको छ । गत आवमा व्यापार घाटा १५ खर्ब २७ अर्ब पुगेको छ । कुल निर्यातभन्दा बढीको त कृषिजन्य वस्तु नै आयात भएको छ । गत आर्थिक वर्षमा नेपालले ४ खर्ब ९ अर्बको कृषिजन्य वस्तु आयात गरेको छ ।
कृषिप्रधान भनिएको हाम्रो देश नेपालमा खेतबारी भने बाँझै छन् । गएको आर्थिक वर्षमा विश्वका विभिन्न ७२ देशबाट ७१ करोडभन्दा बढीको जीवित जनावर आयात भएको छ ।
त्यस्तै, आयातमा निर्भर रहेको देश नेपालमा भुटान, बंगलादेश, चीन, भारत लगायतको देशबाट गत आर्थिक वर्षमा ७ अर्ब १० करोडको आलु भित्रिएको तथ्यांकमा उल्लेख छ। साथै, भारतबाट ५७ करोडको टमाटर र ४ अर्ब ४० करोडको प्याज नेपाल भित्रिएको छ भने चीनबाट एक आर्थिक वर्षमै ६ अर्ब ६७ करोडको लसुन आयात भएको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा २० करोडको सोया सस र टोम्याटो केचप आयात भएको छ भने हुक्काको फ्लेबर २ करोड ४२ लाखको आयात भएको छ । साथै, गत आर्थिक वर्षमा भारत, अमेरिका, युएइ, कतारबाट १४ अर्ब १० करोडको भटमास, तोरी र तिलको पिनासँगै खाना खाएपछि दाँत कोट्याउने सिन्का समेत भारत, चीन लगायतका देशबाट ७ करोड ८८ लाखको आयात भएको भन्सार विभागको तथ्यांमा उल्लेख छ ।


































