काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेका व्यवसायी मोतीलाल दुगड नुनको चर्को व्यापार गरेका कारण आलोचनामा परेका थिए । उनै व्यवसायी तथा पूर्व उद्योग राज्यमन्त्री दुगड पुन ः सोही व्यापार फर्काउने लयमा सक्रिय हुन थालेका छन् ।
यस अगाडि प्रतिकेजी ३५० रुपैयाँसम्म नुनको भाउ पुर्याएर चर्को शुल्क असुलेका व्यवसायी मोतीलाल दुगड पुनः सोही अभियानमा सक्रिय देखिएका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत नुनको व्यापारमा निजी क्षेत्रलाई पनि समावेश गराउने बहानामा आफूले नुनको व्यापारमा फेरि क्रियाशीलता बढाउने अभ्यासमा लागेको देखिएको छ ।
दुगडले यस अघि २०७७ सालमा पनि आफू रान्यमन्त्री सम्हालेकै समयमा नुनको व्यापार थालेका थिए । राज्यका निकायहरूबाट अनुमति बेगर नै प्रतिकेजी ३५० रुपैयाँका दरले नुन विक्री गरेका उनले फेरि सोही कामको थालनीमा लागेको स्रोतको भनाई छ ।
दुगडले टेबल साल्ट ब्राण्डमा बट्टामा १०० ग्राम नुन राखेर सोको उपभोक्ता मूल्य ३५ रुपैयाँ तय गरेका थिए। सो समयमा प्रतिकेजी २० रुपैयाँमा साल्ट ट्रेडिङबाट नुन किनेर दुगडले प्रति १०० ग्रामको ३५ रुपैयाँमा विक्री गरेका थिए । यसरी उनले नुनको मूल्य प्रतिकेजी ३५० रुपैयाँ पुर्याएका थिए । अहिले काठमाडौँ उपत्यकामा नुनको मूल्य प्रतिप्याकेट २६ रुपैयाँ छ ।
कुनै पनि खाद्य वस्तु प्याकेजिङ गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, दुगडले शक्तिको दुरुपयोग गर्दै आफू उद्योग राज्यमन्त्री भएकै समयमा २० रुपैयाँमा किनेको नुन ३५० रुपैयाँमा विक्री गरेका थिए ।


































