काठमाडौँ । चर्चित कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी फाउण्डेशन, कला तथा साहित्य प्रतिष्ठानको आयोजनामा उक्त एकल कविता वाचन सम्पन्न भएको हो ।
पोखरा बसेर साहित्य र संस्कृतिको सेवामा निरन्तर जुटिरहेका कवि श्रेष्ठले केही मुक्तक सहित आफ्ना दर्जन बढी कविता सुनाएका हुन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता र फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सांसद देवी प्रकाश भट्टचन , प्रभु बैंकका सीइओ अशोक शेरचन लगायत अग्रज कवि र सर्जकको समेत उपस्थिति रहेको थियो ।
दर्जन बढी एकल कविता र अन्य सृजना वाचन गरिसकेका कवि श्रेष्ठले हङकङ र युरोपमा समेत एकल मुक्तक र कविता वाचन गरिसकेका छन्।
एकल कविता वाचन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति भण्डारीले आफू पहिलो पटक एकल कविता वाचनमा सरिक हुन पाएको भन्दै आभार व्यक्त गरेका छन् । भण्डारीले आफू साहित्य सुन्नमा निकै रसिक भए पनि यस अगाडि एकल कविता सुन्ने माहौल नपाएको भन्दै उनले कवि श्रेष्ठलाई बधाई शुभकामना समेत ज्ञापन गरेका हुन् ।
तस्बिरमा हेर्नुहोस्



































