National life

कात्तिकसम्म बीमा कम्पनीहरूको कुल प्रिमियम ८० अर्ब नजिक,बीमाको पहुँच ५० % नजिक

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२३ मंसिर २०८२, मङ्गलबार
1.1kShares
कात्तिकसम्म बीमा कम्पनीहरूको कुल प्रिमियम ८० अर्ब नजिक,बीमाको पहुँच ५० % नजिक
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा बीमा बजारले आफ्नो व्यापारमा उल्लेखनीय विस्तार गरेको छ । कात्तिक मसान्तसम्म जीवन र निर्जीवन दुवै बीमा कम्पनीले झन्डै ८० अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिसम्म कुल बीमाशुल्क ७९ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा आर्जन गरिएको ६८ अर्ब ५ करोड ७७ लाख रुपैयाँभन्दा १७.४६ प्रतिशतले अधिक हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बीमालेख संख्या र बीमाको पहुँच दुवै बढ्दै गएपछि बीमा क्षेत्रको समग्र दायरा झण्डै ५० प्रतिशतमा पुगेको देखिन्छ।

त्यस्तै, जीवन बीमा कम्पनीहरूले कात्तिक मसान्तसम्म ६३ अर्ब ७२ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यो १८.६७ प्रतिशतले वृद्धि भएको हो। यसमध्ये १४ अर्ब २० करोड ५९ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ४९ अर्ब ५१ करोड ६९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क रहेको प्राधिकरणले जनाएको छ।

अघिल्लो वर्षको तुलनामा प्रथम बीमाशुल्क २९.०२ प्रतिशतले र नवीकरण बीमाशुल्क १६ प्रतिशतले बढेको छ। सक्रिय बीमालेख संख्या पनि बढेर १ करोड ६० लाख ६३ हजार ४७८ पुगेको छ, जसमा अघिल्लो वर्षको तुलनामा १६.३६ प्रतिशत वृद्धि भएको छ।

निर्जीवन बीमा क्षेत्रमा पनि स्थिर वृद्धि कायम छ। कात्तिक मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १६ अर्ब २१ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँभन्दा १२.९३ प्रतिशतले बढी हो। निर्जीवन बीमालेख संख्या ५८ लाख ७९ हजार ८६६ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.६४ प्रतिशतले वृद्धि हो। त्यस्तै, म्यादी तथा लघु म्यादी जीवन बीमालेख २७.५१ प्रतिशतले र वैदेशिक रोजगार बीमालेख १२.६९ प्रतिशतले बढेको छ।

बीमाको पहुँच पनि विस्तार हुँदै गएको प्राधिकरणको निष्कर्ष छ। कात्तिक मसान्तसम्म बीमाको दायरामा आएका जनसंख्या ४९.४८ प्रतिशत पुगेका छन्, जुन अघिल्लो वर्षको ४२.९२ प्रतिशतभन्दा उल्लेखनीय वृद्धि हो।

लगानीतर्फ हेर्दा, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरूले ८ खर्ब ५४ अर्ब ७० करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन्। यसमध्ये जीवन बीमा कम्पनीहरूको लगानी ७ खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ रहेको छ भने निर्जीवन बीमा कम्पनीहरूले ६४ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन्। बीमा व्यवसायको प्रिमियम, बीमालेख संख्या र लगानी तीनै सूचक सकारात्मक दिशामा अघि बढेपछि बीमा क्षेत्रको समग्र अवस्था अझ सुदृढ बन्दै गएको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?