काठमाडौं । बीमा क्षेत्रमा पछिल्लो समय विभिन्न किसिमका समस्याहरू देखिने गरेका छन् । हाल नेपाको बीमा क्षेत्रमा पोलिसि सरेण्डर, मिस सेलिङ लगायतका बीमामा देखिएका चुनौतीहरूको कुरा गर्दा मिस सेलिङ पनि मुख्य समस्याकै रूपमा देखिने गरेको छ ।
मिस सेलिङको नेपाली रूपान्तरण ‘गलत बिक्री’ भन्ने हुन्छ । ग्राहकहरूलाई उपयुक्त नभएको पोलिसि बेच्नुलाई मिस सेलिङ भनिन्छ ।
यसलाई अझ सजिलो तरिकाले भन्नुपर्दा बीमित अथवा ग्राहकको बुझेर वा नबुझेर आवश्यकता भन्दा बढी वा कम रकमको पोलिसि खरिद गर्नु गराउनु नै ‘मिस सेलिङ’ हो । जसका कारण बीमा कम्पनी, अभिकर्ता वा नियामक निकाय कसैलाई पनि कुनै पनि प्रकारको फाइदा पनि नहुने उनीहरूको भनाई छ ।
यस विषयलाई अझ प्रस्टसँग बुझ्नका लागि हामीले बीमाबिज्ञ डा. रवीन्द्र घिमिरे तथा पेसागत बीमा अभिकर्ता सङ्घका केन्द्रीय सचिव कल्याण विक्रम पाण्डेसँग कुराकानी गरेका छौँ ।
मिस सेलिङका बारेमा बीमाबिज्ञ डा.रवीन्द्र घिमिरेको भनाई यस्तो छ ।
‘मिस सेलिङका कारणले बीमा कम्पनीको विश्वसनीयतामा कमी आउनुको साथै पोलिसि सरेण्डरको अनुपातलाई पनि बढाउनमा मद्यत गर्छ ।’ डा. घिमिरेले भने ।
उनले अगाडी थपे, ‘गलत बिक्रीका कारणले बीमा क्षेत्रमा जोडिने कसैलाई पनि फाइदा पुग्दैन । यसले गर्दा बीमा क्षेत्रमै दूरगामी प्रभाव पर्छ ।’
बीमामा मिस सेलिङको समस्यालाई कम गर्नको लागि ग्राहकले पनि आफ्नो लागि कुन बीमा पोलिसि सही छ भनेर थाहा पाउनु आवश्यक छ । यस्तै बीमा अभिकर्ताहरूले पनि ग्राहकको आवश्यकता अनुसारका पोलिसि सिफारिस गर्नुपर्ने सुझाव डा. घिमिरेको छ ।
अभिकर्ताले ग्राहकलाई बढी कमिसन दिने पोलिसि नभई, उनीहरूको लागि उपयुक्त पोलिसि मात्र बेच्न र ग्राहकले खरिद गरेको पोलिससँग सम्बन्धित सबै नियम र सर्तहरू बुझाउनुपर्ने उनको भनाई छ ।
पेसागत बीमा अभिकर्ता सङ्घका केन्द्रीय सचिव कल्याण विक्रम पाण्डेको भनाई
आर्थिक भ्वाइससंगको कुराकानीका क्रममा उनले भने, ‘मिस सेलिङको समस्या भनेको अदक्ष अभिकर्ताहरूकै कारणले बढी देखिन गएको हो । उनीहरूलाई बीमा सम्बन्धी विज्ञता नभएकाले ग्राहककहाँ गएर बीमा पोलिसिको बारेमा उनीहरूले बुझाउन नसक्ने लगायतका कारणले यस्तो समस्या देखिन जान्छ ।’
उनले अगाडी भने, ‘मिस सेलिङ कै कारणले गर्दा बीमा पोलिसि सरेण्डर हुने, बीमामा निरन्तरता नहुनेजस्ता समस्या देखिन्छन् ।’
मिस सेलिङका घटनाहरू बढ्दै गएपछि यसको समाधानका लागि के गर्नुपर्छ, अभिकर्ताहरू कस्ता हुनु पर्छन् वा उनीहरूको लागि हामीले के कस्ता तालिमहरूको व्यवस्था गर्नुपर्छ भन्ने कुराहरूको बीमा कम्पनीहरू र प्राधिकरणसँग नै सल्लाह गरेर समाधानको प्रयास सङ्घले गरिरहेको उनको भनाई छ ।
यस्तै बीमा कम्पनीहरूले पनि तालिमप्राप्त दक्ष अभिकर्ताहरू उत्पादनमा जोड दिनुपर्नेमा पनि उनले जोड दिएका छन् ।


































