काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट बढाउनु पर्ने माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको विशेष समयमा सांसद केसीले कृषिलाई आधुनिक र वैज्ञानिक बनाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्न सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन।
“अहिले कृषि क्षेत्रमा विनियोजन भएको ३.३६ प्रतिशत बजेटलाई कम्तीमा ५ प्रतिशत पुर्याउनुपर्छ”, उनले भने। उनले किसानलाई आवश्यक मल समयमा उपलब्ध गराउन खरिदको प्रक्रिया समयमा नै थाल्न समेत सरकारको ध्यानाकर्षण गराए।
“वितरणमा अवैज्ञानिक प्रणालीले वास्तविक किसानसम्म मल नपुग्ने समस्या छ”, सांसद केसीले भने, “युएसएडमार्फत आएको ८७ अर्ब रुपैयाँमध्ये अधिकांश बजेट कृषि क्षेत्रमा पर्छ, त्यसतर्फ गम्भीर हुनुपर्छ।”
“विगत ५ वर्षमा ७ अर्ब ६६ करोड रुपैयाँ अनुदान वितरण भयो”, उनले भने, “यस्तो वितरण कति वास्तविक किसानले पाए, कति सदुपयोग भयो, कति अनियमितता भयो, कति राजनीतिक स्वार्थमा भयो, त्यसमा छानबिन गर्छु भन्ने मन्त्रीबाट प्रतिबद्धता आएको थियो । त्यसको सम्बन्धमा के हुँदैछ जानकारी चाहिन्छ ।”
केसीले किसानलाई समयमा मल उपलब्ध गराउन समयमै खरिद प्रक्रियाको तयारीबारे समेत ध्यानाकर्षण गराए। उनले झण्डै ८ लाख मेट्रिक टनको मल आवश्यक भए पनि ४ लाख मेट्रिक टन मात्र मल उपलब्ध हुने भन्दै किसान मर्कामा परेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।






































