काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको बैठकले फागुन २८ गते बिहान ११ बजेदेखि काठमाडौँको नक्सालस्थित लिसारा रिसेप्सनमा सभा गर्ने तय गरेको हो ।
यस वर्षको सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव नल्याइने बैंकले जनाएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
साथै, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पेश गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १४ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । त्यसअनुसार फागुन १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नाम कायम भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन पाउनेछन् ।

































