काठमाडौँ । गत चैत ४ गते राति काठमाडौँको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान भएको छ ।
प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको हो। प्रहरीको अनुसन्धानबाट उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको भएको खुल्न आएको छ।
ना ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो ।
भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौँ उपत्यका अनुसन्धान कार्यालय, टेकुले उक्त व्यक्तिलाई पक्राउ गरेर जिम्मा लगाउन प्रहरीलाई पत्राचारसमेत गरेको छ । साथै, उनको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


































