काठमाडौँ। अब हाल सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टले अनिवार्य मूल्य सूची प्रकाशन गर्नुपर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छलफलका लागि राष्ट्रिय सभामा पेश गरेको पर्यटनसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पर्यटन विभागबाट अनुमति लिएर सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टले अनिवार्य मूल्य सूची प्रकाशन गर्नुपर्ने उल्लेख छ ।
हाल ती होटल तथा रिसोर्टलाई मूल्य सूची अनिवार्य प्रकाशनको प्रावधान छैन। राष्ट्रिय सभामा दफावार छलफलका लागि पेस भएको विधेयक हुबहु पास भए मूल्य सूची अनिवार्य प्रकाशन गर्नुपर्नेछ।
साथै, पर्यटन विभागबाट इजाजत पत्र प्राप्त होटल तथा रिसोर्टले मापदण्ड अनुसारको सेवा र गुणस्तर कायम गरे÷नगरेको वा अनुमति पत्रमा तोकिएको सर्त पूरा गरे÷नगरेको सम्बन्धमा विभागले समय–समयमा अनुगमन गर्ने एवं मापदण्डबमोजिमको सेवा र गुणस्तर कायम गरेको नदेखिए बढीमा ६० दिनको अवधि तोकी मापदण्डबमोजिमको सेवा र गुणस्तर कायम गर्न निर्देशन दिन सक्नेछ।
तोकिएको समय पनि कुनै मापदण्ड पूरा नगरे विभागले स्तर निर्धारण समितिको सिफारिसमा त्यस्ता होटल वा रिसोर्टको बढीमा एक वर्षसम्म दर्ता निलम्बन गर्नेछ। पुनः स्तर निर्धारण तथा वर्गीकरण भएका होटल वा रिसोर्टले बढीमा एक वर्षभित्र साबिकको स्तर वा मापदण्ड पूरा गरे विभागले त्यस्तो निलम्बन फुकुवा गर्नेछ।
साबिककै स्तरमा स्तर निर्धारण तथा वर्गीकरण गर्ने, तर निलम्बन भएको अवधिसम्म पनि साबिकमा तोकिएको स्तर वा मापदण्ड कायम गर्न नसक्ने र चार तारेभन्दा माथिल्लो स्तर वा मापदण्ड कायम गरी सञ्चालन गर्न नचाहने होटल वा रिसोर्ट तल्लो स्तरमा निर्धारण तथा वर्गीकरण गर्न एवं चार तारे स्तरको होटल वा रिसोर्ट रहेछ भने सो स्तरको होटल वा रिसोर्टको इजाजपत्र विभागले खारेज गर्न सक्नेछ।
होटल तथा रिसोर्टले उपलब्ध गराउने खाद्य पदार्थको गुणस्तर परीक्षण गर्ने निकायबाट कम्तीमा तीन महिनामा एक पटक जाँच गराई सोको अभिलेख राखी विभागलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।
इजाजत पत्र प्राप्त गरी सञ्चालित होटल वा रिसोर्ट सञ्चालकले ग्राहकलाई दिने सेवा–सुविधाको स्तर, सोको दर वा मूल्य सूची ग्राहकले देख्न र पढ्न सक्ने गरी नेपाली र अंग्रेजी भाषामा प्रकाशन गर्नुपर्ने नयाँ विधेयकमा उल्लेख छ।
यस्तो छ तारे होटलको नयाँ मापदण्ड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारे होटलको वर्गीकरण मापदण्ड तय गरेको छ। नयाँ मापदण्डमा होटलको रुम संख्या,लबीको स्पेस, पार्किङ क्षेत्रदेखि जग्गाको समेत विषय समावेश गरिएको छ।
मन्त्रालयले सबै स्तरको तारे होटलको ल्याण्डस्केपिङ समान हुनुपर्ने मापदण्ड बनाएको छ। जसअनुसार होटल बलियो भू–धरातलमा बनेको हुनुपर्ने, खुल्ला र आकर्षक प्रवेशद्वार, मौसमी फूल फूल्ने बगैँचा, होटल परिसरभित्रै डुल्न, घुम्न र आराम गर्न मिल्ने सुविधा सहितको शान्त र मनोरञ्जनपूर्ण वातावरण हुनुपर्ने उल्लेख छ। साथै होटल परिसर पूर्ण रूपमा धुलो र धुवाँमुक्त हुनुपर्नेछ।
४ तारेदेखि पाँच तारे डिलक्स होटलले कुल क्षेत्रफलको ४० प्रतिशतमा संरचना बनाउनुपर्ने र सबै स्तरका होटलले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने मापदण्डमा छ।
यसैगरी होटलको प्रवेशद्वारमा नेपाली र अंग्रेजीमा स्पष्ट बुझिने गरी नाम हुनुपर्ने र होटलको सम्पूर्ण कागजपत्रमा समेत नाम खुलाउनुपर्ने मापदण्डमा उल्लेख छ। होटल कुन स्तरको वा कति तारे हो भनेर पनि खुलाउनु पर्नेछ।
पार्किङ क्षमता एक तारे होटलमा ५ वटा चार पाङ्ग्रे गाडी, २ तारेमा १० वटा, ३ तारेका हकमा १५, चार तारेमा २०, पाँच तारेको हकमा २५ र पाँच तारे डिलक्सा ४० सवारी अटने हुनुपर्ने मापदण्डमा उल्लेख छ। यसैगरी होटलले दिने सुविधा लबीबाटै थाहा पाउने गरी हुने उल्लेख हुनुपर्नेछ। ४ तारेभन्दा माथिका होटलले भने कम्तीमा ३० वटा देशको झन्डा राख्न मिल्ने पोल राख्नु पर्ने, अन्तर्राष्ट्रिय मापदण्डका खेलहरू खेल्न मिल्ने गरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खेलकुदको सुविधा हुनु पर्नेछ।
यसैगरी ३ तारे वा सोभन्दा माथिल्लो स्तरको होटलेमा २४ घण्टा नै रुम सर्भिस दिनुपर्नेछ। साथै सबै स्तरको होटलसँग ग्राहकलाई बसपार्क र विमानस्थल पु¥याउने सुविधा सम्पन्न साधन हुनुपर्नेछ भने ४ तारेदेखि माथिल्लो स्तरको होटलसँग भने कम्तीमा २ वटा सुविधा सम्पन्न आफ्नै सवारी हुनुपर्ने नयाँ मापदण्ड बनाइएको छ।
ग्राहकको बहुमूल्य वस्तु राख्न रिसेप्सननजिकै लकर हुनुपर्ने र ४ तारे माथिको होटलको हकमा भने प्रत्येक रुममा लकर हुनुपर्नेछ। बत्तीको सुविधा २४ घण्टा नै हुनुपर्ने, प्रशोधित पानी हुनुपर्ने, आकाशे पानी भन्डारका प्रविधि जडान हुनुपर्ने र नियम अनुसार ढल निकासीको व्यवस्था हुनुपर्ने समेत मापदण्डमा उल्लेख छ। होटलको लबीको क्षमता १ तारेको हकमा १० जना, दुई तारेको हकमा १५, ३ तारेमा २०, ४ तारेमा ४०, पाँच तारेमा ६० र पाँच तारे डिलक्सको हकमा ८० जना अट्ने हुनुपर्नेछ।
यसैगरी, आन्तरिक तथा बाह्य उडानको टिकटको व्यवस्था गर्न ट्राभल डेक्स राख्नुपर्ने, ३ घण्टीभित्र फोन उठ्नु पर्ने, भुक्तानी नगद, अनलाइन र क्रेडिट कार्डबाट हुने व्यवस्था मिलाउनुपर्ने, पत्रपत्रिका तथा पर्यटक सम्बन्धित जानकारीमूलक सामग्री होटलको क्षमताअनुसार हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ।






































